यही सरकार आगामी दुई वर्षसम्म चल्छ : अर्थमन्त्री

  फागुन २०, २०७७

बुटवल, फागुन २० : अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा संसदमा बहुमत रहेको बताउनुभएको छ । उहाँले बाँकी दुई वर्ष पनि यही सरकारले निरन्तरता पाउने बताउनुभयो ।

गृह जिल्ला रुपन्देहीमा बिहीबार विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टीको सरकार ढालेर प्रचण्ड– माधवहरु कम्युनिष्ट इतरको सरकार बनाउन लागिरहेको आरोप लगाउँदै उहाँले सो प्रयास निरर्थक हुने दाबी गर्नुभयो ।

सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले सरकार ढलाउन र पार्टी विभाजन गर्न कसैले साथ नदिने उल्लेख गर्दै नेकपाको सरकार ढलाउन कसैले पनि साथ नदिने बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो ‘कम्युनिष्ट पार्टी विसर्जन गर्ने उहाँहरुको कथित हिम्मत सफल हुन्न, अहिले पनि नेकपा राष्ट्रिय राजनितिको नेतृत्व शक्ति हो र यो रहिरहन्छ, बाँकी दुई वर्षको कार्यकाल केपि ओली नेतृत्वको सरकारले नै नेतृत्व गर्छ ।’

यसैबीच, रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नवनिर्मित मुख्य भवनको उद्घाटन गर्दै उहाँले रुपन्देहीमा विकास सम्मेलन गर्न लागिएको बताउनुभयो ।

“रुपन्देही विकासको रोलमोडल बनेको छ, विकास हेर्न रुपन्देही जानुपर्छ भन्ने मान्यता स्थापित गर्नका लागि पनि यहाँ विकास सम्मेलन गर्न लागिएको हो,” उहाँले भन्नुभयो ।

हाल निर्माण भएको भवनमा कार्यालय सञ्चालनका लागि ठाउँ अभाव भएमा अर्को नयाँ भवन निर्माण गरेर भएपनि महानगरको केन्द्र तिलोत्तमालाई बनाउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

वर्तमान सरकारले इतिहासमै राम्रो काम गरेको तर विकास निर्माणको गतिलाई रोक्ने उद्देश्यले अँधेरो कोठाबाट सरकार गिराउने तानाबाना बुनिएको बताउँदै उहाँले भन्नुभयो “राष्टिय स्वाधिनताको पक्षमा होस् वा सिके राउत र विप्लव जस्ता शक्तिलाई मूलधारमा ल्याउने काममा होस्, सरकारले हरेक क्षेत्रमा राम्रो काम गरेको छ ।’

कोभिड विरुद्धको भ्याक्सिन नागरिकलाई उपलव्ध गराउने नेपाल दक्षिण एसियामै दोस्रो मुलुक बनेको दावी गर्दै पौडेलले तर विरोधीहरुले सरकारले केही गरेन भनेर भ्रम फैलाउने मात्र काम गरेको आरोप लगाउनुभयो

तपाईको प्रतिक्रिया