तम्घास, फागुन २० : गुल्मीको भाडगाउँमा युवतीको हत्या गर्ने अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्लाको रेसुङगा नगरपालिका तीन भाडगाउँमा २१ वर्षीया सम्झना बोहरालाई हत्या गर्ने अभियुक्त ४७ वर्षीय लालबहादुर खत्रीलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
सम्झनालाई अभियुक्त लालबहादुरले कर्तव्य गरेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । तर हत्या किन र कसरी गरेको भन्ने कारण भने प्रहरीले खुलाएको छैन् ।
सम्झना बोहरा गत माघ २९ गते रातीदेखि बेपत्ता भएकी थिइन् । अभियुक्त लालबहादुरले २९ गते नै हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । अभियुक्त लालबहादुर बेपत्ता भएकी युवतीको खोज तलास गर्दा उनको सक्रियता बढी देखिएको थियो ।
तर पछि अभियुक्त लालबहादुरले शवको गन्ध आएको भनेर स्थानीय जनप्रतिनिधीलाई खबर गरेका थिए । घटनासँग धेरै क्रियाकलापमा अभियुक्त लालहादुरलाई गरिएको अनुसन्धानबाट हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
अभियुक्त लालबहादुरलाई जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ । बेपत्ता भएको १८ दिनपछि फागुन १७ गते सम्झनाको शव घरनजिकैको झाडीमा टाउको बोरामा राखेको र स्याउला र ढुंगाले ढाकेको अवस्थामा फेला परेको थियो ।
सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते सासु तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।






