दीक्षा भट्ट
मैले आजसम्म थाहा पाएको छैन,
सहिदको रातो रगत
र
झण्डाको रातो रङ्ग
कसरी फरक-फरक हुन् ?
कहिलेकाहीँ यस्तो लाग्छ
कतै यी झण्डाहरु
रगतमा चोपिएर राता भएका त होइनन् ?
सेतो र रातो
कसरी उस्तै-उस्तै हुन् ?
कहिलेकाहीँ यस्तो लाग्छ
कतै विर्य र रगत
एकै योनिबाट बग्ने हुनाले त होइन ?
हुन त म यसै बौलाहा
उसै बौलाहा
कहलिएको बौलाहा
मलाई बेला-बेलामा के के लागिरहन्छ
म सुर्यौदयलाई सुरुवात होइन
बिछोड मान्छु
सुर्यास्तलाई अन्त्य होइन
मिलन मान्छु
म त के मान्छु
मान्छु…
म बाहुपाशलाई सुरक्षित होइन
निसास्सिरहेको देख्छु
आखी भौंलाई स्वतन्त्र होइन
नाङ्गिरहेको देख्छु
म त के देख्छु
देख्छु…
निभेका चुलाहरु
कुर्दै छन्
आगोका झिल्काहरु
सुकेका गडाहरु
कुर्दै छन्
पानीका थोपाहरु
म पनि
कुर्दै छु
पूर्णविरामहरु
प्रतीक्षाको फल मीठो होला
वा
लामो प्रतीक्षाले फल कुहिएला ?
आफ्नै नाभीको कस्तुरी
यत्रतत्र खोजिरहने
मनुवाको संसारमा
के चाहिँ होला ?
सबै चुपचाप बसेका बेला
उठेर ‘चु’ गर्न पनि
निकै हिम्मत चाहिने रहेछ
लड्दालडदै अन्यायविरुद्ध
म बाैलाएँ,
म भिन्न किसिमको
अपांग भएको छु,
अचेल
एउटै चिन्ताले
मलाई दिनहुुँ सताइरहन्छ –
मेरो मृत्यु पश्चात्
यी लाउड सोचहरुले
मलाई सहिद घोषणा
गर्लान् ?
यदि गर्छन् भने,
म सहिद कसरी हुन सक्छु ?
म त बौलाहा हु
लाग्दैछ
सायद !
लावारिस हुनेछु…