हाप्किडोको चौथो राष्ट्रिय च्याम्पियसिप वैशाखमा

  फागुन १२, २०७७

काठमाडौँ, फागुन १२ : हाप्किडोको चौथो राष्ट्रिय च्याम्पियनसिप आगामी वर्ष वैशाख पहिलो साता काठमाडौँमा हुने भएको छ । आयोजक नेपाल मार्शल आर्ट्स हाप्किडो एशोसिएशनले आज उक्त प्रतियोगिताबारे जानकारी गराएको हो ।

वैशाख ४ देखि ६ गतेसम्म हुने उक्त प्रतियोगितामा सातै प्रदेशका खेलाडी सहभागी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिनुभयो । सो प्रतियोगितामा फाइटतर्फ महिला र पुरुष दुवैमा १०–१० वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । अध्यक्ष मगरका अनुसार २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, ६५–७० र ७०–७५ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै, सेल्फ डिफेन्स, डेमोस्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुने छ ।

खेलाडीलाई चलायमान बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष मगरले बताउनुभयो । “अब खेलाडीका लागि विस्तारै प्रतियोगिता आयोजना गर्ने योजना छ”, उहाँले भन्नुभयो । सङ्घले यसअघि पहिलो राष्ट्रिय च्याम्पियनसिप रोल्पामा आयोजना गरेको थियो । कोरोना भाइरस महामारीका कारण दोस्रो र तेस्रो राष्ट्रिय च्याम्पियनसिप भने भर्चुअल माध्यमबाट गरेको थियो ।

तपाईको प्रतिक्रिया