जर्जियाका प्रमुख विपक्षी नेता गिरफ्तार

  फागुन १२, २०७७

तिब्लिसी, फागुन ११ : जर्जियाली प्रहरीले मङ्गलबार यहाँको विपक्षी दलको मुख्यालयबाट प्रमुख विपक्षी नेतालाई पक्राउ गरेको छ ।

नेता निका मेलियालाई दलको कार्यालयमा पुगी पक्राउ गर्ने क्रममा दलका नेता तथा कार्यकर्ता र सुरक्षाकर्मीबीच दोहोरो झडपसमेत भएको सरकारी अधिकारीले बताएका छन् । उक्त अवसरमा प्रहरीले भीडलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्याससमेत चलाएको बताइएको छ ।

विपक्षी नेताको पक्राउपछि गत वर्ष सम्पन्न भएको भनिएको विवादित संसदीय निर्वाचनपछि जारी राजनीतिक सङ्कटलाई अझ गम्भीर बनाउने अनुमान अधिकारकर्मीहरूले गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजनमा देखिएका प्रत्यक्ष दृश्यमा जर्जियाको प्रमुख विपक्षी गठबन्धन, ‘युनाइटेड नेशनल मुभमेन्ट’, का नेता निका मेलियालाई दलको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर हिरासतमा लगिएको देखिएको छ ।

यसैबीच सयौँ दङ्गा प्रहरीले उहाँका समर्थकहरू र बुधबारदेखि भवनमा डेरा गरी रहेका देशका सबै विपक्षी दलका नेताहरूविरूद्ध अश्रुग्यास प्रयोग गरेको एमतावारी टीभीले प्रत्यक्ष दृश्यचित्रहरूमा देखाइएको छ ।

तपाईको प्रतिक्रिया