अस्ट्रेलियामा खोप अभियान शुरु

  फागुन १०, २०७७

क्यान्बेरा, फाल्गुन १० : कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले कडा लकडाउन र प्रतिबन्धहरु घोषणा गरेको अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप औपचारिक रुपमा शुरु भएको छ । अस्ट्रेलियामा फाइजर कम्पनीले विकास गरेका हजारौं डोज खोप आइपुगेको छ ।

प्रधानमन्त्री स्कट मरिसनले आइतबार नै कोभिड–१९ विरुद्धको खोप लगाइसक्नु भएको छ । अस्ट्रेलियाले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा खोप लगाउने तयारी गरेको छ ।

अस्ट्रेलियाको क्यान्बेरास्थित गारान सर्ज सेन्टरमा सोमबार आयोजित विशेष समारोहमा एक २२ वर्षीया नर्सलाई पहिलो खोप दिइएको छ । उक्त समारोहमा अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्ट पनि उपस्थित हुनुहुन्थ्यो । गारान सर्ज सेन्टरमा कोरोनाभाइरसको परीक्षण गर्नुका साथै कोभिड–१९ विरुद्धको खोप दिइने एउटा केन्द्र हो ।

त्यस अवसरमा स्वास्थ्य मन्त्री ग्रेग हन्टले संवाददाताहरुसँग कुरा गर्दै जतिसक्दो चाँडो धेरैभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई खोप दिन सरकार प्रयत्नशील रहेको बताउनुभयो । दक्षिण अस्ट्रेलिया राज्यको रोयल एडिलेड अस्पताल र फ्लिन्डर्स मेडिकल सेन्टरमा चार हजार डोज खोपको व्यवस्था गरिएको छ । यस राज्यमा पहिलो तीन साताभित्रै करिब १२ हजारलाई खोप दिने तयारी छ ।

तपाईको प्रतिक्रिया