भारतका पाँच राज्यमा कोरोनाको सङ्क्रमण उच्चदरमा वृद्धि

  फागुन १०, २०७७

काठमाडौं, फागुन १० : भारतका केही राज्यमा कोरोनाको जोखिम बढेको छ । महाराष्ट्र, मध्यप्रदेश, केरला, जम्मु काश्मिरमा दैनिक थपिने सङ्क्रमितको संख्यामा वृद्धि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा पछिल्लो चौबीस घण्टामा १४ हजार १९९ जना सक्रिय सङ्क्रमित थपिएका छन् । जसमध्ये महाराष्ट्रमा मात्रै छ हजार ९७१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । जुन पछिल्लो १२१ दिन यताकै सबैभन्दा बढी हो ।

आर्थिक महानगर मुम्बईमा मात्रै नौ सयभन्दा बढी सङ्क्रमित थपिएका छन् । जुन पछिल्लो ८४ दिन यताकै सबैभन्दा बढी हो । मुम्बईमा हालसम्म तीन लाख १९ हजार १२८ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । महाराष्ट्रमा सङ्क्रमितको संख्या २१ लाख ८८४ पुगेको छ । यद्यपि दैनिक थपिने सङ्क्रमितको संख्या पछिल्लो सेप्टेम्बर महिनामा हालसम्मकै उच्च २० हजारभन्दा धेरै टाढा छ ।

भारतीय सञ्चारमाध्यमहरुले दैनिक थपिने सङ्क्रमितको ८५ प्रतिशत महाराष्ट्र, केरला, मध्यप्रदेशसहितका पाँच राज्यका छन् । महाराष्ट्रमा लगातार छैठौं दिन दैनिक सङ्क्रमितको संख्यामा वृद्धि भएको हो ।

भारतमा हालसम्म एक करोड दश लाख पाँच हजार ८५० जनामा सङ्क्रमित भएका छन् । हाल एक लाख ५० हजार ५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । एक करोड छ लाख ९९ हजार ४१० जना कोरोनामुक्त भएका छन् । भारतको स्वास्थ्य तथा जनकल्याण मन्त्रालयका अनुसार हालसम्म एक करोड ११ लाख १६ हजार ५८४ जनालाई कोभिड १९ विरुद्धको खोप लगाइएको छ ।

तपाईको प्रतिक्रिया