तीन महिनामा ११ करोड २८ लाखको गोलभेँडा बिक्री

  फागुन ०८, २०७७

सर्लाही, फागुन ८ : गोलभेँडाको सहरका रूपमा चिनिने सर्लाहीको लालबन्दीबाट तीन महिनामा ११ करोड रुपियाँभन्दा बढीको गोलभेँडा बिक्री भएको छ । कृषि बजार व्यवस्थापन समिति लालबन्दीका अनुसार यहाँबाट मङ्सिर, पुस र माघमा ११ करोड २८ लाख ४४ हजार पाँच रुपियाँको गोलभेँडा बिक्री भएको हो ।

किसानले यो तीन महिनाको अवधिमा ५६ लाख ७१ हजार एक सय केजी गोलभेँडा बिक्री गरेर सो रकम बराबरको आम्दानी गरेका लालबन्दीका व्यापारी एवं कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष दरेश चौधरीले जानकारी दिनुभयो ।

माघमा सबैभन्दा धेरै ३८ लाख ७८ हजार पाँच सय केजी गोलभेँडा निकासी भएको हो । त्यसबाट किसानले छ करोड २० लाख ५६ हजार रुपियाँ आर्जन गरेका छन् । यो महिना गोलभेँडा प्रतिकेजी न्यूनतम १२ देखि २० रुपियाँ प्रतिकेजी बिक्री भएको छ ।

यस्तै मङ्सिर महिनामा तीन लाख ४८ हजार पाँच केजी र पुसमा १४ लाख ४४ हजार एक केजी गोलभेँडा निकासी भएको छ । किसानलाई मङ्सिर र पुस महिनामा क्रमशः एक करोड ८२ लाख ९६ हजार २५० र तीन करोड २४ लाख ९२ हजार २५० रुपियाँ आम्दानी भएको कृषि बजार व्यवस्थापन समितिले जनाएको छ ।

मङ्सिरमा किसानले गोलभेँडा प्रतिकेजी न्यूनतम ४५ देखि ६० रुपियाँ र पुस महिनामा न्यूनतम १० देखि अधिकतम ३५ रुपियाँसम्म बिक्री गरेका थिए । फागुन लागेदेखि मूल्य घटेर प्रतिकेजी न्यूनतम १० देखि अधिकतम १२ रुपियाँसम्म बिक्री भइरहेको व्यापारी चौधरीले बताउनुभयो ।

अहिलेको मूल्य यो वर्षकै कम हो । माघ अन्तिम साता भाउ बढ्दा खुसी भएका यहाँका किसान अहिले भने निराश छन् । अहिलेको मूल्यले किसानको लगानी र हैरानी नै नउठ्ने अवस्था रहेको लालबन्दी नगरपालिका–१७, रानीगञ्जकी किसान जुना घिमिरेले गुनासो गर्नुभयो ।

सर्लाहीमा उत्तरी भेगका लालबन्दी नगरपालिकाको लालबन्दीसहित रानीगञ्ज, नवलपुर, पत्थरकोट, चन्द्रपुर, हीरापुर र हरिवन नगरपालिकाको सासपुर, अत्रौली, घुर्कौली क्षेत्रमा गोलभेँडा खेती हुन्छ । यहाँका किसानले फलाएको गोलभेँडा लालबन्दी, नवलपुर र हरिवनमा ल्याएर बेच्ने गरेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

यहाँको गोलभेँडा काठमाडौँ, बुटवल, पोखरा, जनकपुर, वीरगञ्ज, चपुर, सिन्धुली, कटारी, विराटनगरलगायत देशका प्रमुख सहरमा पुग्ने गरेको छ । गोलभेँडा मङ्सिरदेखि फल्न सुरु भई चैतसम्म फल्छ ।

तपाईको प्रतिक्रिया