वासु रिमाल ‘यात्री’ पुरस्कार झा र दाहाललाई

  फागुन ०४, २०७७

काठमाडौं, फागुन ३ : २०७७ को वासु रिमाल ‘यात्री’ पुरस्कार राष्ट्रिय समाचार समिति (रासस) प्रदेश–२ कार्यालय जनकपुरमा कार्यरत वरिष्ठ समाचारदाता प्रभाषचन्द्र झा र केन्द्रीय कार्यालयमा कार्यरत कार्यालय सहयोगी खिलप्रसाद दाहाललाई प्रदान गरिने भएको छ ।

राससको ६०औँ वार्षिकोत्सवका अवसरमा फागुन ७ गते राजधानीमा आयोजना गरिने कार्यक्रममा पुरस्कार वितरण गरिने रासस कर्मचारी संघले जनाएको छ । दुवै पुरस्कारको राशि जनही रु पाँच हजार एक र सम्मानपत्र रहेको छ । रासस हीरक वर्ष प्रवेशका अवसरमा संघका संस्थापक अध्यक्ष वासु रिमालकी धर्मपत्नी शारदा रिमाललाई पनि विशेष सम्मान गर्न लागिएको अध्यक्ष मनोजकुमार लामिछानेले जानकारी दिनुभयो ।

रिमालको नेतृत्वमा संघको स्थापना विसं २०४७ मा भएको हो । पुरस्कार स्थापनाका लागि वासु रिमालकी धर्मपत्नी शारदाले आर्थिक सहयोग गर्नुभएको संघले जनाएको छ । राससको वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष समितिमा कार्यरत कर्मचारीलाई पुरस्कार वितरण गरिन्छ ।

तपाईको प्रतिक्रिया