अब राष्ट्रिय ललितकला प्रदर्शनी व्यवस्थित

  माघ २९, २०७७

काठमाडौं, माघ २८ : ललितकला क्षेत्रको उत्सवको रूपमा मानिने राष्ट्रिय ललितकला प्रदर्शनी यसपालिबाट व्यवस्थितरूपमा सञ्चालन गरिने भएको छ । इतिहासमै पहिलोपटक ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६’ लागू गरी प्रदर्शनीलाई स्वच्छ, पारदर्शी र व्यवस्थित गर्न लागिएको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का कुलपति कान्छाकुमार कर्माचायले अबका प्रदर्शनीहरु कार्यविधिभन्दा बाहिर गएर गर्न नपाइने जानकारी दिनुभयो । यसपालि नयाँ प्रयोग गरेर व्यवस्थित गरिएको र आगामी प्रदर्शनी पनि कर्याविधिअन्तर्गत नै रहने गरी सञ्चालन हुने उहाँको भनाइ छ ।

नेपाली ललितकलाको संरक्षण संवद्र्धन र प्रवद्र्धनका लागि बनेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को परिच्छेद २ को दफा ५ (ट) मा व्यवस्था भएअनुसार राष्ट्रिय ललितकला प्रदर्शनीको सञ्चालन र व्यवस्थापन गर्न बनेको नियमावली, २०६८ को नियम ५७ को अधिनमा रही कार्यविधि बनाएर लागू गरिएको हो । आगामी वैशाख २ गते सञ्चालन हुने प्रदर्शनीको आवश्यक तयारीसमेत शुरु भइसकेको कुलपति कर्माचार्य बताउनुहुन्छ । त्यसका लागि कर्माचार्यको संयोजकत्वमा ८४ सदस्यीय मूल समिति बनेको छ । त्यस्तै कार्यकारी समिति र उपसमितिहरु गठन गरेर कार्यप्रक्रिया थालिएको छ ।

मंगलबार बसेको मूल समितिको पहिलो बैठकले उपकुलपति गोपाल चित्रकारको संयोजकत्वमा कार्यकारी समिति बनेको र त्यसको मातहतमा रहने गरी अन्य उपसमितिहरु गठन गरिएको छ । “यसअघि चित्रहरु बुझाउनका लागि सार्वजनिक सूचना जारी गरिएको थियो मंगलबार भने औपचारिकरूपमा तयारी शुरु भएको छ, अब काम तीव्ररूपमा अघि बढ्छ”, कर्माचार्यले भन्नुभयो ।

गएको वर्षको प्रदर्शनी भने कोभिड–१९ का कारण प्रभावित बनेको थियो । औपचारिकरूपमा नभए पनि अनलाइन माध्यमबाट कार्यक्रम गरिएको नाफाका सदस्यसचिव विपिनकुमार घिमिरेले बताउनुभयो । यसपालि भने भौतिक उपस्थितिमै र अनलाइन गरी दुवै प्रक्रियाद्वारा प्रदर्शनी गरिने जनाइएको छ ।

प्रदर्शनी हचुवाका भरमा नहोस्, सधैँ एकरुपता कायम होस् भनेर कार्यविधि बनाई लागू गरिएको हो । तोकिएको नियम, मापदण्ड र कार्यविधिअनुसार प्रदर्शनी सञ्चालन हुँदा यसको गरिमा बढ्ने कलाकारको विश्वास छ । नाफाका अनुसार प्रदर्शनीलाई थप पारदर्शी बनाउँदै प्रणालीको विकास गर्न विधा प्रष्ट हुने गरी कार्यविधि बनाइएको जनाएको छ । यसपटक ग्राफिक्स कम्युनिकेशन विधा थप गरी स्पष्टरूपमा विधा तोकेको छ । सोही आधारमा हरेक वर्षको कला प्रदर्शनी सञ्चालन हुनेछ । प्रतिष्ठानले कला प्रदर्शनीमा सहभागी हुन माघ ३० गतेभित्रमा आ–आफ्ना कलाकृति बुझाउन सार्वजनिक सूचना जारी गरिएको थियो । पर्याप्त मात्रामा कलाकृति नआएपछि समयसीमा १५ दिन थपिएको कुलपति कर्माचार्यले बताउनुभयो ।

यसरी छुट्याइएको छ विधा
यसपालि परम्परागत चित्रकला, आधुनिक चित्रकला (समसामयिक चित्र तथा प्रिन्ट मेकिङ कला), परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला, लोककला (विभिन्न जातजातिका संस्कार, संस्कृति तथा भूगोलमा आधारित स्थानीयकला), हस्तकला÷शिल्पकलाको विधा छुट्याइएको छ । यस्तै वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत वास्तुकला (शास्त्रीय) र अन्य सिर्जनात्मक कलातर्फ प्रतिस्थापन तथा भावभंगी कला, ग्राफिक्स कम्युनिकेशन (मौलिक, दृष्टान्त कला, कार्टुन, पोष्टर, डिडिटल कला) तथा सिर्जनात्मक छवि कला र सिर्जनात्मक भिडियो कला समावेश गरिएको छ ।

नाफाका अनुसार प्रदर्शनका लागि एक वर्षभित्रै रचना गरिएको कलाकृति हुनुपर्ने छ । माध्यम जुनसुकै भए पनि मान्य हुने कार्यविधिमा उल्लेख छ । कलाकार भने १८ वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्ने कार्यविधिमा स्पष्ट तोकिएको छ । बढीमा दुई थान कलाकृति बुझाउनुपर्ने, विधागत प्रादेशिकरूपमा पुरस्कृत गरिने, कलाकार दुई विधामा सहभागी भए पनि पुरस्कार भने एक विधामा मात्रै पाइने व्यवस्था गरिएको छ । प्रदर्शनीमा सहभागी हुने कलाकृतिको आकारसमेत तोकिएको छ । सोहीअनुसार आएका कलाकृति मात्रै मान्य हुनेछ ।

यस्तो छ पुरस्कारको व्यवस्था
विधागतरूपमा राष्ट्रिय तथा विशेष पुरस्कार, प्रादेशिक पुरस्कार वितरण गरिने छ । चित्रकलातर्फ आधुनिक र परम्परागतमा एक÷एक जनालाई राष्ट्रिय र दुई-दुई जनालाई विशेष पुरस्कार प्रदान गरिने छ । मूर्तिकलातर्फ (परम्परागत र आधुनिक) मा तथा हस्तकला-शिल्पकला एवं लोककलातर्फ पनि सोहीअनुसार विधागतरूपमा नै पुरस्कार प्रदान गरिने छ तर तोकिएको विधागतमा भने कम्तीमा पाँच कलाकारको सहभागिता अनिवार्य गरिएको छ ।

वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ दुई जनालाई राष्ट्रिय ललितकला पुरस्कार र चार जनालाई विशेष पुरस्कार प्रदान गरिने छ । यस्तै राष्ट्रिय ललितकला लेखन पुरस्कार, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार तथा प्रादेशिक पुरस्कारसमेत वितरण हुनेछ ।

तपाईको प्रतिक्रिया