भागरथीका परिवारजन भन्छन्– निर्मलाको जस्तो हविगत नहोस्

  माघ २५, २०७७

बैतडी, माघ २५ : दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यापछि शोकमा रहेको परिवार घटनामा संलग्न उम्केलान् भन्ने चिन्ताले पिरोलिन थालेको छ । राजनीतिक चलखेल पनि हुने आशंका गर्दै परिवारजनले अपराधीलाई जतिसक्दो छिटो पक्राउ गर्न माग गरेका छन् । ‘हत्यारालाई छिटो पत्ता लगाएर कडा कारबाही गर्नुपर्छ,’ भागरथीकी आमा दुरा भट्टले भनिन् ।

बुधबार विद्यालय गएकी १७ वर्षीया भागरथीको शव बिहीबार बीभत्स अवस्थामा फेला परेको थियो । परिवार र आफन्त उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेका छन् । भागरथीका काका शंकर भट्टले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय नपाएको घटना सम्झँदा भतिजीको हत्याका विषयमा पनि त्यस्तै हुन्छ कि भन्ने शंका रहेको बताए । ‘प्रहरी–प्रशासनको अनुसन्धानको तरिका अहिलेसम्म ठीकै छ तर अपराधी पक्राउ नपरेसम्म कसरी ढुक्क हुने ?’ उनले भने, ‘पहुँच भएका व्यक्ति घटनामा संलग्न छन् भने कारबाहीबाट उम्किएलान् कि भन्ने शंका लागेको छ ।’ त्यही कारण भागरथीलाई न्याय दिलाउन गाउँलेलाई राखेर संघर्ष समिति गठन गरिएको शंकरले बताए ।

भागरथीको शव बिहीबार दिउँसो गाउँकै विद्यार्थीले घर फर्किरहेका बेला सडकमुनि झाडीमा देखेका थिए । घटनास्थलमा साँझ ५ बजे स्थानीय र प्रहरी पुगेका थिए । शुक्रबार दिउँसो २ बजेतिर मात्र उनको शव घटनास्थलबाट उठाइएको थियो । जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी प्रहरी टोलीसहित शुक्रबार घटनास्थल पुगेका थिए ।

शव उठाउने दिन जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशी, सरकारी वकिल भानदेव जोशीलगायतको टोली शवको प्रकृति बुझ्न खटिएको थियो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलगायत जिल्लाका सुरक्षा निकाय प्रमुख र दोगडाकेदार घर भएका प्रदेश सांसद लीलाधर भट्ट पनि शुक्रबार दिनभर घटनास्थलमा थिए । भागरथीकी सहपाठी ज्योति भट्टले साथीको हत्यापछि स्कुल जानै डर लागेको बताइन् । ‘सँगै हिँड्ने, पढ्ने साथीको यस्तरी ज्यान गयो, अब हामी कसरी एक्लै हिँड्ने ?,’ उनले भनिन् ।

दुई महिनाअघि मात्र पति गुमाएकी दुरा छोरीको शव फेला परेको सुनेपछि पूर्ण होसमा छैनन् । रोएरै रातदिन बिताइरहेकी छन् । ‘अब त म बाँच्न सक्दिनँ कि जस्तो लाग्न थालेको छ,’ उनले भनिन्, ‘छोरीलाई यसरी दुःख दिएर हत्या गर्नेलाई छिटो पक्राउ गरेर सकेसम्मको कारबाही भएको हेर्ने मन छ ।’ शंकरले भतिजी भागरथीको बलात्कारपछि नै हत्या भएकामा शंका नरहेको बताए । ‘मैले फोटाहरू हेरेको थिएँ । शरीरभरि मान्छेले बनाएका चोट छन्,’ उनले भने ।

अनुसन्धानमा खटिएका प्रहरीहरूले शवको प्रकृति हेर्दा किशोरीको बलात्कारपछि नै हत्या भएको जनाएका छन् । शव अर्धनग्न अवस्थामा फेला परेको थियो । शरीरका कपडा च्यातिएको र भित्री कपडामा रगत लागेको थियो । किशोरीको योनि र मुखबाट धेरै मात्रामा रगत बगेको भेटिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । ‘किशोरीले प्रतिकार गरेर पनि असफल भएको देखिन्छ । दुई वा दुई जनाभन्दा बढीको समूहले उनको बलात्कार र हत्या गरेको हुन सक्छ,’ ती प्रहरी अधिकारीले भने । शव भेटिएकै स्थान बनमाराको झाडीमा बलात्कार र हत्या भएको उनले आशंका गरे । घटनास्थल स्थानीय खोचलेक चडेपानी ग्रामीण सडकबाट एक सय मिटर तल पर्छ ।

सरकारी वकिल कार्यालयले पोस्टमार्टम गर्नका लागि मात्र केस दर्ता भएको जनाएको छ । प्रहरीले कसैलाई पनि नियन्त्रणमा नलिएको र किटानी जाहेरी नआएको अवस्थामा आफूकहाँ अरू निवेदन नपरेको सरकारी वकिल भानदेव जोशीले बताए । बैतडी जिल्ला अस्पतालमा शनिबार शवको पोस्टमार्टम गरिएको छ । काठमाडौंबाट पोस्टमार्टमका लागि विज्ञ चिकित्सक आउने भनिए पनि शवको प्रकृतिले बलात्कारपछि नै हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा पाइएपछि जिल्ला अस्पतालमै पोस्टमार्टम गरिएको हो । आइतबार बिहानसम्म रिपोर्ट आउने अस्पताल प्रमुख डा. वसन्तराज जोशीले बताए । ‘घटना संवेदनशील र शंकास्पद छ । अनुसन्धान त्यही संवेदनशीलताका आधारमा अगाडि बढाएका छौं,’ डीएसपी अधिकारीलाई उद्धृत गर्दै इकान्तिपुर अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया