काठमाडौँ, माघ २४ : पश्चिम न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका उच्च पहाडी र हिमाली भागमा हिमपातसहित वर्षा भएको छ । काठमाडौं उपत्यका वरपरका शिवपुरी, चन्द्रागिरि, फूलचोकीसहित नगरकोट क्षेत्रमा शनिबार हिउँ परेको छ । अघिल्ला वर्षहरूमा मंसिर–पुसमै हिउँ पर्ने गरे पनि यो वर्ष लामो समय हिउँदे वर्षा र हिउँ पर्न सकेको थिएन ।
काठमाडौं आसपासका मकवानपुरको दामन र पालुङ, दोलखाको कालिन्चोकसहित गौरीशंकर संरक्षण क्षेत्रका विभिन्न स्थान तथा सिन्धुपाल्चोकको शेर्माथान, हेलम्बु, पाँचपोखरीलगायतको क्षेत्रमा पनि हिउँ परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रबाट सुरु भएको हिमपात शनिबारसम्म प्रदेश १ को उच्च पहाडी र हिमाली क्षेत्रसम्म परेको जनाएको छ । ‘देशैभर हिउँदे वर्षासमेत भएको छ,’ महाशाखाले भनेको छ, ‘सोमबारदेखि मौसममा सुधार आउनेछ ।’
हिमपातसहित शनिबार देशैभर हल्कादेखि मध्यमखालको वर्षा भएको छ । ढिलै भए पनि हिउँदे वर्षा हुँदा कृषि बाली लगाउन समस्यामा परेका किसानलाई राहत मिलेको छ । हिउँदका तीन महिना (डिसेम्बर–फेबु्रअरी) सम्म ६०.९ मिलिमिटर वर्षा हुने भए पनि शुक्रबारसम्म जम्मा ६.८ मिलिमिटर मात्र वर्षा भएको थियो । अघिल्ला वर्षको तुलनामा यो वर्षको हिउँद सुक्खा भएको छ । सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित अपिनाम्पा संरक्षण क्षेत्र, बझाङ, बाजुरा, डडेलधुरा, कर्णाली प्रदेशका मुगुस्थित रारा, मुर्मा, खत्याड, किम्री र डोल्फु, उपल्लो डोल्पाका विभिन्न स्थान, जुम्ला तथा गण्डकी प्रदेशको कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, लमजुङलगायत जिल्लामा भारी हिमपात भएको छ ।
वाग्मती प्रदेशको रसुवा, धादिङ, मकवानपुर, दोलखा तथा प्रदेश १ को सोलुखुम्बुका विभिन्न बस्ती, संखुवासभा, इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न स्थानमा समेत बाक्लो हिमपात भएको छ । सिन्धुपाल्चोकको हेलम्बुका पुराना गुम्बा र मन्दिर हिउँले सेताम्मे भएका छन् । हेलम्बु क्षेत्रस्थित पाकेडाँडा, घ्याङुल, शेर्माथान, तार्केघ्याङ, मेलम्चीघ्याङ, शेर्माथान, किउल भेग बाक्लो हिउँले ढाकिएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार गाउँभरि शनिबार झन्डै चार फिट बाक्लो हिउँ जमेको थियो । ‘हिउँ पर्दा हाम्रो बास कष्टकर बनेको छ,’ हेलम्बु–२ मेलम्चीघ्याङका ६५ वर्षे कामी लामाले भने । भोटेकोसी गाउँपालिकाको लिस्तीकोटको पाउँगुम्बा, छगाम, बगाम, दुगुना, फुल्पिङकट्टीको यरमाला, तातोपानीको कोदारी, बाह्रबिसे नगरको कर्थली, त्रिपुरासुन्दरीको घोर्थलीसम्म हिउँ परेको छ ।
जुगल गाउँपालिकाको नोकसाङ डाँडा पनि हिउँले ढाकिएको छ । मेलम्चीघ्याङलगायत दुर्गम गाउँ जाने सडक अवरुद्ध बनेको छ । ‘यो पटक केही ढिलो हिउँ पर्यो । अघिल्ला हिउँदमा माघको पहिलो साता जिल्लाभर हिमपात हुने गथ्र्यो,’ बाह्रबिसे नगरपालिका राम्चेका चक्रध्वज तिवारीले भने । चुल्टे, मान्द्रा डाँडादेखि रातमाटा गाउँसम्म हिउँले ढाकेपछि यहाँको जनजीवन कष्टकर बनेको उनले बताए । हल्का वर्षासँगै शनिबार रसुवाको उच्च हिमाली भेगमा पनि हिमपात भएको छ । यो वर्षको पहिलो हिउँदे वर्षा र हिमपात भएको हो । जिल्लाको उत्तरी भेग लाङटाङ, क्याङजिन, गोसाइँकुण्ड, धुन्चे लेक, देउराली गतलाङ, चोलाङपाटी, लौरीबिना, नगथली, चन्दनबारीलगायत विभिन्न ठाउँहरूमा हिमपात भएको छ । हल्का वर्षा र हिमपातका कारण जिल्लाको उतरी क्षेत्रमा चिसो बढेको छ । हिमपात र वर्षा भएपछि किसान खुसी भएका छन् ।
गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकसहित उत्तरी भेगमा यस वर्ष पहिलो पटक हिमपात भएको स्थानीय तुले गुरुङले बताए । यसअघिका वर्ष मंसिर अन्तिम साताबाट यहाँ हिमपात हुन्थ्यो । भूकम्पपीडितका लागि बनाएको लाप्राकस्थित गुप्सीपाखा बस्ती शुक्रबार रातिबाट परेको हिउँले ढाकिएको छ । गुप्सीपाखा बस्तीका घरको भित्री काममा खटिएका स्थानीय पनि हिउँ परेर चिसो बढेसँगै पुरानै गाउँ फर्किएका छन् । चुमनुब्री गाउँपालिकाअन्तर्गत छेकम्पार, सामागाउँलगायत उच्च हिमाली भेगमा पनि हिमपात भएको स्थानीयले बताए । हिउँ परेपछि जौ, आलुलगायत बाली राम्रो हुने भन्दै किसान भने खुसी भएका छन् ।
म्याग्दीमा शुक्रबार साँझदेखि अधिकांश माथिल्ला बस्तीमा हिमपात भएको छ । शनिबार बिहान पनि हिमपात जारी छ । हिमपातले सडक तथा पदमार्ग बन्द हुँदा माथिल्लो क्षेत्रका अधिकांश बस्ती विच्छेद भएका छन् । लामो खडेरीपछिको हिमपात र वर्षा भएकाले कृषक कष्टकर जनजीवन भए पनि उत्साही छन् । ‘आकाशे पानीमा निर्भर हाम्रा खेतबारीका गहुँ, जौलगायत हिउँदेबाली सुक्न थालेको थियो, असोजपछि पहिलो पटक पानी परेकाले हिउँदे खेतीलाई राहत भएको छ,’ अन्नपूर्ण गाउँपालिका–८ राम्चेका कृषक राजु गर्बुजाले भने, ‘हिउँ परिरहेको छ, अझै कति पर्ने हो । हिउँ पर्दा जनजीवन कष्टकर भए पनि हामी खुसी छौं । गहुँ, जौ, औवाजस्ता खेतीबाली र स्याउसमेतका हिमाली फलफूल समयमा हिउँ पर्दा फस्टाउँछन् ।’
त्यसैगरी जिल्लाको पर्यटकीय क्षेत्र टोड्के, रुइसे, पुनहिललगायत क्षेत्रमा बाक्लो हिउँ थुप्रो लाग्दै गर्दा वरपरका बस्तीबाट युवायुवती हिउँ खेल्न पुगेका छन् । सदरमुकाम वरपरका डाँडामा पनि हिमपात सुरु भएको छ । उपल्लो क्षेत्रमा हिउँ परेकाले तल्लो क्षेत्रमा भने अत्यधिक चिसो बढेको छ । विश्व सम्पदा सूचीमा प्रस्तावित ‘माटोको सहर’ मुस्ताङको उपल्लो भेग लोमन्थाङ क्षेत्रका बालुवाका पहाड, बाटो, खेत र घरहरू अहिले हिउँले सेताम्मे बनेका छन् । शुक्रबार बिहानै हिमपात भएकाले अत्यधिक चिसो बढेको छ । एक बस्तीबाट अर्को बस्तीमा आवतजावत गर्न पदमार्ग विच्छेद भएकाले मुस्ताङको उपल्लो भेगको जनजीवन प्रभावित छ ।
‘हिउँले गर्दा हिँडडुल गर्न र वल्लोपल्लो गाउँ जान गाह्रो भएको छ, चिसो अत्यधिक छ,’ लोमन्थाङस्थित लोटर होलिडे होटलका सञ्चालक पेमावाङ्देल विष्टले भने, ‘हिउँ ढिलो पर्यो, यो तीन फिट बाक्लो हिमपात पहिलाभन्दा ज्यादै न्यून हो ।’ मुस्ताङका लोमन्थाङ, छोसेर, छोन्हुप, चराङ, घमीलगायत मुक्तिनाथमाथिका बस्ती स्थलमार्गबाट विच्छेद भएका छन् । हिउँ जमेको र हिउँपछि पानी परेकाले परम्परागत माटोका मुन्डे घरहरू चुहिन थालेका इकान्तिपुर अनलाइनमा उल्लेख छ ।