म्यानमारमा फेसबुकमा पहुँच निषेध

  माघ २२, २०७७

काठमाडौं, माघ २२ : प्रजातान्त्रिक सरकारलाई सत्ताच्युत गरेको म्यानमारका सैन्य शासकले सामाजिक सञ्जाल फेसबुक चलाउन निषेध गरेको छ । सैन्य शासकले भने ‘स्थिरता’का लागि उक्त कदम चालिएको जनाएको छ ।

म्यानमारको सञ्चार तथा सूचना मन्त्रालयले फेसबुकको पहुँच फेब्रुअरी सातसम्मका लागि निषेध गरिएको जनाएको छ । यद्यपि कतिपय स्थानमा झै फेसबुक सञ्चालनमा नै छ । बीबीसीका अनुसार म्यानमारको प्रमुख शहर यांगुनमा भ्रमण एजेन्सी सञ्चालन गरेका एन्थोनी औङले वाइफाइबाट फेसबुक सञ्चालनमै रहेको बताउनुभएको छ । सेलुलर डाटाबाट मात्र फेसबुक पहुँचमा रोक लगाइएको उहाँले बताउनुभयो । उहाँले यसो बताएको केही घण्टाभित्रै जुनसुकै सञ्जालबाट पनि फेसबुक सञ्चालनमा रोक लगाइयो ।

म्यानमारको कुल जनसंख्याको करिब पचास प्रतिशत एक करोड तीस लाख ब्यक्तिको पहुँच फेसबुकमा छ । आन्दोलनरत अधिकारवादीहरुले फेसबुकमा पेज सञ्चालन गरी आफ्नो कार्यक्रम तय गरेर साझा गर्दै आएका छन् । फेसबुकले भने पेज पहुँचमा आएको अवरोधबारे जानकारी पाएको र परिवार एवम् मित्रजनसँग सम्पर्कका लागि महत्वपूर्ण माध्यम बनेको फेसबुक पूर्ववत् सञ्चालनका लागि प्रयास भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया