प्रदर्शनकारीले सामाखुशीमा ट्याक्सी जलाए, उपत्यकाबाट ६० जना नियन्त्रणमा

  माघ २२, २०७७

काठमाडौं, माघ २२ : सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको छ । काठमाडौँ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा आज बिहान ६ः३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी गर्दा ट्याक्सी जलेर नष्ट भएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका अज्ञात समूहले ट्याक्सी आगजानी गरेको राससलाई जानकारी दिनुभयो । ट्याक्सी आगजानी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । सरकारले बुधबार संसदीय सुनुवाइबिनै संवैधानिक निकायका प्रमुख तथा सदस्यको शपथ खुवाएसँगै बुधबारै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले यसको विरोध गर्दै आजलाई आमहडतालको घोषणा गरेका थिए ।

यस्तै बिहान ७ बजेसम्म बन्द गराउँदै हिँडेका दाहाल (नेपाल समूहका ६० जना कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । एसएसपी सिंहका अनुसार उनीहरुलाई अवाञ्छनीय गतिविधि र बन्द गराउँदै हिँडेको आरोपमा पक्राउ गरिएको हो । यस्तै, प्रदर्शनकारीहरुले जय बागेश्वरीमा एउटा गाडीको सिसा फुटाएको एसएसपी सिंहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया