आमहड्तालले जनजीवन प्रभावित, अबराेध गर्ने करीब ८० जना पक्राउ

  माघ २२, २०७७

काठमाडौं, माघ २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले आव्हान गरेको देशव्यापी आमहड्तालले जनजीवन प्रभावित भएको छ । उपत्यकामा विहान ९ बजेसम्म करीब २० प्रतिशत सार्वजनिक यातायातका साधन सञ्चालनमा रहेको र अवरोध गर्न खोज्न करीब ८० जनालार्ई पक्राउ गरीएको केन्द्रिय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँबरले बताउनुभयो ।

राजधानी बाहिर हेटौंडा, नारायणगढ लगायतका क्षेत्रमा सञ्चालित सवारी साधन तथा ट्रकमा ढुङ्गा प्रहार भएको र विहान काठमाडौंको समाखुशीमा ट्याक्सीमा आगजनी भएको उहाँले बताउनुभयो ।
उपत्यकामा माइक्रोबस लगायतका सार्वजनिक सवारी साधनमा प्रहरी खटाइ सुरक्षा दिइएको र केही सार्वजनिक यातायात सञ्चालनमा रहेको बताउनुभयो । संवैधानिक निकायमा भएको नियुक्ति लगायतका विषयलाई लिएर सो समूहले आज देशभर आमहट्तालको घोषणा गरेको थियो ।

प्रदर्शनकारीले ट्याक्सी जलाए, उपत्यकाबाट ६० जना नियन्त्रणमा
राजधानीको गोंगबूमा दाहाल-नेपाल समूहका कार्यकर्ताहरुले पार्किङ गरेर राखिएको ट्याक्सी जलाएका छन् । महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहका अनुसार प्रदर्शनकारीहरुले प्रदेश नम्बर ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका हुन् ।

यस्तै बिहान ७ बजेसम्म बन्द गराउँदै हिँडेका दाहाल-नेपाल समूहका ६० जना कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । एसएसपी सिंहका अनुसार उनीहरुलाई अवाञ्छनीय गतिविधि र बन्द गराउँदै हिँडेको आरोपमा पक्राउ गरिएको हो ।

यस्तै, प्रदर्शनकारीहरुले जय बागेश्वरीमा एउटा गाडीको सिसा फुटाएको एसएसपी सिंहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया