काठमाडौं, माघ १६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्नचिह्न खडा भएको बताउनुभएको छ । जिल्ला अध्यक्षसँगको भर्चुअल बैठकमा थापाले संसद् विघटनले मुलुकमा संकट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताउनुभयो ।
पार्टीको आगामी कार्यदिशा संगठन, जनसंघर्ष र महाधिवेशनमा केन्द्रित भएको बताउँदै थापाले पार्टी विभाजनको पीडा अब कहिल्यै भोग्नु नपर्ने दावी गर्नुभयो । उहाँले जनता, प्रजातन्त्र र कार्यकर्ताका नित्ति राप्रपालाई मुलुककै बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाएर छाड्ने दृढता व्यक्त गर्नुभयो ।
देशब्यापी संगठन सुदृढीकरण अभियानमा केन्द्रित हुनुपर्नेमा थापाको विशेष जोड थियो । बैठकमा नेताहरू ध्रुबबहादुर प्रधान र भाष्कर भद्राले राप्रपाको बिचार र कार्यसूचीलाई स्थापित गर्ने विषय अहिलेको प्रमुख विषय भएको धारणा राख्नुभयो । आजको बैठकमा ३१ जिल्लाका अध्यक्ष र प्रतिनिधिको सहभागीता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो ।






