प्रधानमन्त्रीद्वारा पशुपतिनाथमा विशेष पूजा आराधना

  माघ १२, २०७७

काठमाडौँ, माघ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्नुभएको छ ।

धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब ८ बजे पशुपतिनाथ मन्दिर पुग्नुभएका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । सो अवसरमा उहाँले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिनुभएको थियो ।

पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उहाँले कोषका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । सो अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी हुनुभएको थियो ।

पशुपति क्षेत्रमा प्रधानमन्त्री ओलीलाई कोषका सदस्य सचिव ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा र कोष सञ्चालक परिषद्का सदस्यलगायत कर्मचारीले स्वागत गर्नुभएको थियो । विशेषपूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले प्रसाद लगाइदिनुभएको थियो । मूलसहित चारैजना भट्ट विशेष पूजामा सहभागी हुनुभएको कोषले जनाएको छ ।

तपाईको प्रतिक्रिया