संविधान र कानूनको अधीनमा सबै रहनुपर्नेमा नेपालको जोड

  माघ ०९, २०७७

काठमाडौँ, माघ ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका शीर्ष नेताले प्रतिनिधिसभा पुनःबहाली हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेकपाले आज यहाँ आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसंँग संँगसंँगै जान नसकिने बताउँदै भन्नुभयो,“केहीले कम्युनिष्ट–कम्युनिष्ट फेरि पनि मिल्छन् भनेका छन्, हामी विचार र मूल्यको राजनीतिक गर्छौँ । ओलीले पार्टीलाई कागजमा मात्र सीमित गर्न खोज्नुभयो ।”

उहाँले अहिलेको संविधानले राजनीतिक स्थायित्व गरेकाले प्रत्येक व्यक्ति संविधान र कानूनको अधीनमा रहनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी मिलाउन अध्यक्ष पुष्पकमल दाहाल र आफूले धेरै कोशिश गरे पनि प्रधानमन्त्री ओलीले गर्दा पार्टी भत्केको आरोप लगाउनुभयो । “पार्टी प्रणालीमा पार्टीले सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निगरानी गर्छ ”, उहाँले भन्नुभयो, “तर ओली प्रधानमन्त्री भएपछि कहीँ पनि निगरानी भएन । पार्टी नै राम्रोसंँग चलेन ।”

सो अवसरमा पार्टीका वरिष्ठ नेता खनालले सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने धारणा राख्नुभयो ।

सर्वोच्च अदालत न्यायमूर्तिले नेपाली जनताले भनिरहेका कुरा सुनिरहेको जनाउँदै प्रतिनिधिसभा व्युँतने जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीलाई संविधानभन्दा माथि जान अधिकार नभएको जनाउँदै उहाँले पनि संविधानबमोजिम बोल्नुपर्ने र निर्णय गर्नुपर्ने भनाइ राख्नुभयो ।

अर्काे प्रसंगमा उहाँले भन्नुभयो, “हामीले समाजवादको भविष्य निर्माण गर्नुपर्दछ । सुन्दर न्यायप्रेमी समाज, लोकतान्त्रिक समाजको निर्माण गर्नुपर्छ, समाजवादमा जान बाटो लामो र उकालो छ तर धेरै कठिन छैन । हामी त्यहाँ पुग्न सक्छौँ ।”

पूर्वप्रधानमन्त्री खनालले संविधानको रक्षा गर्न नेपाली जनताको एकतालाई अझ सुदृढ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नयाँ खालको पार्टी बनाइने
स्थायी कमिटी सदस्य घनश्याम भुसालले आजसम्म भएको कमजोरी औँल्याएर नयाँ खालको पार्टी निर्माण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, नयाँ खाले पार्टीमा अब नेकपा अध्यक्षदेखि सदस्यसम्म सबै समानतामा आधारित हुन्छन् ।”

तपाईको प्रतिक्रिया