लन्डन, माघ ८ : बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एकैदिनमा एक हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीले बुधबार जानकारी दिएका समाचारमा जनाइएको छ ।
बुधबार दिएको जानकारीमा बेलायतमा हिजोमात्र सो भाइरसको सङ्क्रमणबाट यति धेरै नागरिकको ज्यान गएको छ ।
बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकै दिनमा ज्यान गएको यो पहिलो पटक भएको पनि बुधबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएका छन् ।
यसैगरी यहाँका अधिकारीले दिएको जानकारीअनुसार बुधबारसम्ममा यहाँका ९३ हजार २९० जनाको कोरोना भाइरसबाट नै निधन भएको बताइएको छ ।
उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको पनि बताएका छन् ।
उता यहीँबाट नै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त सङ्गठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ ।
यसैगरी बेलायतमा बुधबारमात्र पनि ३८ हजार ९०५ जना नागरिकमा यो सङ्क्रमण देखिएको छ । एकै दिनमा यति धेरै संख्यामा सङ्क्रमित पाइएको पनि केही दिन यताको यो ठूलो संख्या पनि हो ।
योसमेत गरी बेलायतमा कोभिड–१९ का सङ्क्रमितको संख्या पनि निकै बढेको छ । समाचारअनुसार यही बुधबारसम्ममा यहाँका ३५ लाखभन्दा बढी नागरिकमा यो सङ्क्रमण पुगेको छ ।
विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दोरुपमा विश्वमा बढ्दै गएको बताइएको छ ।
बुधबार मात्र विश्व स्थास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको यो भाइरसका कारण ज्यान गएको छ ।
गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमित थपिएका छन् । पछिल्ला दिनमा सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ ।
पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ । युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने भएको छ ।






