चिनियाँ राजदूत यान्छीले भेटिन् राष्ट्रपति भण्डारीलाई

  माघ ०५, २०७७

काठमाडौँ, माघ ४ : नेपालमा राजनीतिक संकट गहिरिइरहेकै बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फेरि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । राजदूत होउले गत शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर भण्डारीसँग भेटवार्ता गरेकी हुन् ।

उनीहरूको भेटवार्ताबारे राष्ट्रपति कार्यालय र सरकारी पक्षले कुनै पनि सूचना बाहिर ल्याएका छैनन् । शुक्रबार भएको उक्त गोप्य भेटवार्ताबारे चिनियाँ दूतावासका तृतीय सचिव चाङ सीले पुष्टि गरेका छन् । ‘उहाँहरूबीच भेटवार्ता भएको हो तर कुन विषयमा कुराकानी भएको भन्ने जानकारीमा आएको छैन,’ उनले भने ।

नेकपाभित्रको विवादलाई कारण देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि चिनियाँ राजदूत होउको राष्ट्रपति भण्डारीसँग तेस्रोपटक भेटवार्ता भएको हो ।

प्रतिनिधिसभा विघटन भएको केही दिनमै होउ राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेकी थिइन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा भएको नयाँ राजनीतिक घटनाक्रमलाई बुझ्न पठाएको टोलीसँग पनि होउ शीतल निवास गएकी थिइन् ।

वैशाखदेखि नै नेकपामा विवाद हुन थालेपछि राजदूत होउले नेताहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल र माधवकुमार नेपालसँग उनीहरूकै निवासमा पुगेर पटक–पटक भेटवार्ता गर्दै आएकी छन् ।

चीनको चाहना नेकपा नफुटोस् र नेपालमा राजनीतिक स्थिरता तथा आर्थिक विकास होस् भन्नेछ । नेकपा विभाजन भएपछि चीनबाट आएको विशेष टोलीले पनि दुई समूह अझै मिल्न सक्ने सम्भावना कति छ भन्दै दुवै पक्षसँग सल्लाह गरेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया