म्युजिक भिडियोमा सिने कलाकारको आकर्षण

  माघ ०४, २०७७

काठमाडौं, माघ ४ : धेरै कलाकारहरु म्युजिक भिडियोबाट चलचित्र क्षेत्रमा प्रवेश गर्ने गर्छन् तर कोरोना महामारी पछि भने धेरै चर्चित कलाकार पनि म्युजिक भिडियोमा ब्यस्त हुन थालेका छन् । राम्रो पारिश्रमिक तथा थोरै दिनमा नै काम सकिने भएको कारण पनि चलचित्रका कलाकारलाई म्युजिक भिडियो खेल्न प्रेरित गर्ने गरेको छ ।

हाल म्युजिक भिडियोको लागि चर्चित नाम नायक पल शाह अग्रस्थानमा हुुनुहुन्छ । उहाँले अभिनीत गर्नुभएको अधिकाशं म्युजिक भिडियो ट्रेडिङमा रहेको छ । चलचित्रमा चर्चित अभिनेताको रुपमा आफुलाई स्थापित गर्नुभएको शाह भन्नुहुन्छ, म्युजिक भिडियोकै पृष्ठभूमिबाट चलचित्रमा नायक बनेको हो । ठूलो होस् या सानो पर्दा जुन ठाउँमा पनि अभिनय गर्ने हो ।

चलचित्रमा नायक भएका म्युजिक भिडियोमा पहिलो रोजाइमा पर्ने गरेका छन् । अझ यसमा पनि पल शाहविनाका म्युजिक भिडियो देख्न मुस्किल पर्छ उहाँको अनुसार, विगत दश महिनादेखि चलचित्र क्षेत्र बन्द भएपछि पनि म्युजिक भिडियोमा क्रेज बढेको हो । चलचित्र जस्तो म्युजिक भिडियो छायाङकन गर्न महिना वा बर्षो लाग्दैन बढीमा तीन वा चार दिन लाग्छ त्यसैले फुर्सको समयमा अभिनय गर्न सहि माध्यम भएको शाहको अनुभव छ ।

लामो समयदेखि चलचित्र अभिनयमा विश्राम लिइराख्नुभएका राजेश हमाल पछिल्लो समय म्युजिक भिडियोमा पनि ब्यस्त हुनुभएको छ । उहाँले हालैमात्र आफू अभिनीत दुई वटा म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो । हमालले अभिनय गर्नुभएको गीतमध्ये एउटा गीत प्रकाश सपुतको हो । सपुत र हमालले अघिल्लो वर्ष सांगीतिक कार्यक्रम ‘सप्तरंग’मा सँगै सात प्रदेशको यात्रा गर्नुभएको थियो ।

बन्दाबन्दीको समयमा नायक नाजिर हुसेन, आकाश श्रेष्ठ, पुजा शर्मा, आर्यन सिग्देल, आँचल शर्मा, रेबिका गुरुङ, प्रदीप खड्का, सलोन बस्नेतले लगायतका नायकहरु म्युजिक भिडियो सार्वजनिक भएको थियो । म्युजिक भिडियोको छायाङ्कन तथा हाइ बजेटमा हुनेभएपछि चलचित्रको कलाकारको आर्कषण बढेको गायक दुर्गेश थापाको दाबी छ । समयको बचत हुनुको साथै युट्युवमा अग्रसर नम्बरमा आउने भएकोले नायकहरु म्युजिक भिडियोमा ब्यस्त देखिको उहाँले बताउनुभयो ।

आधुनिक तथा लोकदोहोरी गीतका भिडियोमा अभिनय गर्ने कलाकारको पारिश्रमिकको अहिले महँगो नै छ । थापाले भन्नुभयो, चलचित्रमा अभिनय गरेका कलाकारले लोक वा आधुनिक गीतको भिडियोमा काम गर्दा १ लाख पारिश्रमिक माग्छन् । तर, लोक र आधुनिक गीतकै भिडियोमा काम गरेर करिअर अगाडि बढाइरहेका मोडलहरुको पारिश्रमिक भने चलचित्रका कलाकारले लिने जस्तो महंगो छैन । टिकटकबाट उदाएकामध्ये गरिमा शर्मा, उषा उप्रेती, गीता ढुंगाना पनि लोकदोहोरीमा देखिरहेका छन् । उनीहरुले १५ हजार रुपियाँदेखि ३०–३५ हजार पारिश्रमिक लिने निर्देशकहरु बताउँछन् ।

लामो समयदेखि लोकदोहोरीमा सक्रिय र व्यस्त मोडलहरुको व्यस्तता हिजोआज भने घटेको छ । चलचित्रसँगै आधुनिक गीतका मोडलहरु समेत लोकदोहोरीमा देखिन थालेसँगै उनीहरुको व्यस्तता कम भएको हो । यता अनमोल केसी, सलिनमान बानियाँ, धिरज मगर र सुशील श्रेष्ठ मात्र म्युजिक भिडियोमा देखिएका छैनन् । दुवैले अहिलेसम्म आएका अफर नकार्दै आएका छन् । अनमोलले त सुरु सुरुमा विज्ञापनमा पनि अभिनय नगर्ने भन्दै आएका अफर टार्दै आएका गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया