काठमाडौं, पुस २७ : पछिल्लो २४ घन्टामा नेपालमा ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ३०९ नमूना परीक्षण गर्दा २९६ पुरुष र १९२ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सङ्क्रमितमध्ये १२९ महिला र १५८ पुरुष गरी ३१४ जना काठमाडौँ उपत्यकाका छन् । हालसम्म दुई लाख ६५ हजार २६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ५२७ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५८ हजार ९६८ पुगेको छ । यससँगै कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९७.६ प्रतिशत पुगेको छ ।
हाल चार हजार ३७३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । आज १० जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा हालसम्म कोरोनाबाट एक हजार ९२७ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयले हालसम्म १९ लाख ८७ हजार ५५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । हाल २३७ जना क्वारेन्टिनमा र चार हजार ३७३ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।