सिनेमा हलमा दर्शकको उपस्थिति न्यून

  पुष २५, २०७७

काठमाडौँ, पुस २५ : कोरोना भाइरस (कोभिड–१९)का कारण बन्द भएको सिनेमा घर खुले पनि दर्शकको चहलपहल अझै न्यून छ । पुरानै चलचित्रका कारण सिनेमा हलमा न्यून उपस्थिति रहेको जानकारहरूको भनाइ छ ।

नेपाल चलचित्र सङ्घले गत पुस १० बाट एकतर्फी रूपमा हल खोल्ने निर्णय गरेपछि पुरानै चलचित्र प्रदर्शनीमा ल्याइएको थियो । पुरानो चलचित्र हेर्न दर्शक नआएको अनुमान लगाउन सकिने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हल नखुलेसम्म चलचित्र गतिविधि ठप्प हुने भयो । हामीले असारमै हल खोल्नुपर्ने माग गरेका थियौं ।” त्यो बेला नै खोलेको भए दर्शकको चहलपहल हुने दाबी उहाँको छ ।

हल नखुल्दा केका लागि सुटिङ गर्ने र सुटिङ गरेका फिल्म कहाँ देखाउने ? भन्दै उहाँले थप्नुभयो, “चलचित्रकर्मीमा कामकै अन्योल थियो । हल खुलेपछि त्यो अन्योल विस्तारै हटेको छ ।” हल खुलेपछि चलचित्र निर्माण क्षेत्रमा सकारात्मक सञ्चार भएको भन्दै उहाँले नयाँ चलचित्र प्रदर्शन भएपछि दर्शक आउने बताउनुभयो ।

हल खोलिसकेपछि महामारीका कारण चल्दाचल्दै रोकिएका ‘आमा’ र ‘सेन्टी भाइरस’ हलमा चल्न थाले तर दोहो¥याएर लागेका चलचित्रमा विरलै दर्शक आएका छन् । अझ ‘सेन्टी भाइरस’ त त्यही बेला दर्शकले नरुचाएर हलबाट उत्रिसकेको थियो ।

हल सञ्चालकले हल खोल्ने निर्णय गरेको दोस्रो हप्ता चलिरहेको छ तर हलमा न नयाँ फिल्म छन् न त दर्शक । हल सञ्चालकले हल खोले पनि दर्शकलाई नयाँ चलचित्र दिन सकेका छैनन् ।
चलचित्र सङ्घका महासचिव अशोक शर्माले नयाँ चलचित्र प्रदर्शन गर्ने तयारी गरिरहेको बताउनुभयो ।

चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले नयाँ चलचित्र भए हलमा दर्शकको उपस्थिति बढ्ने बताउनुभयो । अब नेपाली नयाँ वर्ष वैशाखमा नयाँ चलचित्र आउने र दर्शकले हेर्न पाउने आशा रहेको पनि अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया