सूचना प्रवाहलाई व्यवस्थित बनाउन परामर्श सुरु

  पुष २०, २०७७

काठमाडौँ, पुस २० : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सूचना प्रवाहलाई अझ व्यवस्थित बनाउन मातहतका निकायसँग परामर्श सुरु गरेको छ ।

सिंहदरबारमा आइतबार भएको परामर्श बैठकमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सञ्चार माध्यमबाट गालीगलौज नहोस् र स्वतन्त्रताको उपयोग गर्दा अरूको मर्यादामा पनि ध्यान
पुगोस् भन्नुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनको समयमा आमसञ्चार माध्यमलाई अझ व्यवस्थित, मर्यादित र नियमनको आवश्यकता देखिन्छ । त्यसका लागि निर्वाचन आयोगबाटै यससम्बन्धी निर्देशिका आयो भने अझ सजिलो हुनेछ ।”

सरकारको स्वामित्वमा रहेका सञ्चार माध्यमका लागि मन्त्रालयले कस्तो सहजीकरण गरिदिनुपर्छ भनेर सचिव बस्यालले जिज्ञासा राख्नुभएको थियो ।

बैठकमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले गोरखापत्रले उच्च प्रविधि र दक्ष जनशक्तिबाट निर्वाचनसम्बन्धी व्यवस्थापकीय र सम्पादकीय तहबाट कार्ययोजना बनाइएको बताउनुभयो ।

उहाँले गोरखापत्रले काठमाडौँ, विराटनगर र कोहलपुरमा आधुनिक प्रविधिका नयाँ वेभ तथा अपसेट मेसिन जडान गरेकाले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री पनि संस्थानले छापेर सहयोग गर्न तयार छ भन्नुभयो ।

परामर्श बैठकमा रेडियो नेपाल, राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमका पदाधिकारीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल पार्न गरेको तयारीबारे जानकारी दिँदै आयोगबाट पनि सहयोगको अपेक्षा गर्नुभयो ।

उहाँहरूले कोरोनाका कारण आर्थिक आम्दानी घटेको र आकस्मिक रूपमा निर्वाचनमा थप खर्च गर्नुपर्ने तथा आधुनिक उपकरण पनि खरिद गर्नुपर्ने भएकाले सहजीकरणका लागि मन्त्रालयसँग आग्रह गर्नुभयो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले केही दिनअघि सञ्चार मन्त्रालयलाई आफ्नो निर्वाचनको तयारीबारे मातहतका निकायसँग परामर्श गरेर जानकारी गराउन गर्नुभएको आग्रहअनुसार यो परामर्श बैठक आयोजना गरिएको जानकारी मन्त्रालयले दिएको छ ।

तपाईको प्रतिक्रिया