तरकारी बजार, चिया पसल र ट्याम्पोमा पनि क्यूआर कोड

  पुष २०, २०७७

काठमाडौँ, पुस २० : डिजिटल भुक्तानीको माध्यम क्यूआर कोडको चर्चा र प्रयोग दुवै चुलिएको छ । गत साता नक्सालको तरकारी बजारमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा किनेर क्यूआर कोडमार्फत भुक्तानी सुरुवात गरेयता यसको चर्चा र प्रयोग बढेको छ ।

राष्ट्र बैङ्कले डिजिटल कारोबारलाई तीव्र रूपमा अगाडि बढाएसँगै चिया पसलदेखि होटल, पसल, रेस्टुरेन्ट हुँदै ट्याम्पो चढ्दासमेत क्यूआर कोडमार्फ भुक्तानीको क्रम पनि सुरु भएको छ । हातमा स्मार्ट फोन र इन्टरनेटको पहुँच पुगेपछि नगद चाहिएन । एटीएम बुथ खोज्दै हिँड्ने र कोरोना लाग्ला कि भन्ने त्रासबीच नगद झिक्नु नपर्ने भएपछि त यसले देशको डिजिटाइजेसन प्रक्रियामा योगदान दिने आभास हुन थालेको छ ।

राष्ट्र बैङ्कले डिजिटल कारोबारलाई विस्तार गर्ने क्रममा पछिल्लो समय ‘क्यूआर कोड’को माध्यमबाट डिजिटल बैङ्किङका लागि अभियानकै रूपमा विस्तार गरिरहेको छ । सानिमा बैङ्कको सक्रियतामा नक्सालस्थित तरकारी बजारमा पनि क्यूआर कोड माध्यमबाट डिजिटल कारोबार गर्न पाइने गरी सुरुवात गरेपछि उत्साहित बन्नुभएका गभर्नर अधिकारीले अरू तरकारी बजारमा पनि विस्तार गर्न बैङ्कहरूलाई निर्देशन दिनुभएको छ ।

आगामी एक वर्षमा देशका सबैजसो ठूला तरकारी बजारलाई ‘क्यासलेस’ बनाउने लक्ष्य लिएको राष्ट्र बैङ्कले सबै तरकारी बजारमा ‘क्यूआर कोड’ प्रणाली लागू गरेर क्यासलेस बनाउने जनाएको छ ।गभर्नर अधिकारीले सबै तरकारी बजारलाई क्यासलेस बनाउने राष्ट्र बैङ्कको योजना रहेको भन्दै त्यसका लागि सबै वाणिज्य बैङ्कले आफ्ना हेडक्वाटर र शाखा भएका स्थान नजिक सञ्चालनमा रहेका तरकारी बजारमा क्यूआर कोड प्रणाली लागू गरे पुग्ने बताउनुहुन्छ ।

गभर्नर अधिकारीका अनुसार भुक्तानी प्रक्रियामा डेबिट÷क्रेडिट कार्डको प्रयोग गर्दा नेपाली पैसा विदेशिन्छ भने क्यूआर कोडमार्फत भुक्तानी गर्दा नेपालको पैसा बाहिरिँदैन । समग्र अर्थतन्त्रलाई प्रविधिमैत्री तुल्याउने सन्दर्भमा क्यूआर कोडको प्रवद्र्धनले ठूलो योगदान पु¥याउने उहाँको विश्वास छ । यो प्रविधिको प्रयोगले नगदरहित कारोबारलाई प्रोत्साहनका साथै मुलुकको आर्थिक र सामाजिक रूपान्तरणमा समेत ठूलो योगदान पु¥याउने उहाँको भनाइ छ ।

क्यूआर कोड के हो ?
‘क्यूआर कोड’ अर्थात् ‘क्विक रेस्पोन्स कोड’ । क्यूआर कोडमा सेतो पृष्ठभूमिमा स्क्वायर ग्रिडमा कालो चारकुने स्क्वायर समावेश हुन्छ जुन क्यामराजस्ता इमेजिङ उपकरणले पढ्न सक्छ । चीन, भारत, अमेरिका, युरोप तथा जापानलगायतका देशमा अधिकांश कारोबार हुने गरेको यो प्रणालीबाट कारोबार गर्दा मोबाइलबाट बैङ्कले उपलब्ध गराएको कोड क्लिक गर्नेबित्तिकै कारोबार हुन्छ ।

सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजलजस्तो देखिने क्यूआर कोडको माध्यमबाट छिटो छरितो तरिकाबाट तत्काल कारोबार गर्न सकिन्छ । मोबाइलको सहाराबाट कुनै पनि कारोबार सजिलैसँग गर्न सकिन्छ ।

क्यूआर कोड भुक्तानीका लागि बैङ्क खातासँगै मोबाइल बैङ्किङ एप हुनुपर्छ । ई–सेवा, खल्ती, आईएमई पेलगायतका वालेटबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । मोबाइल बैङ्किङ एपभित्रै कुनै मर्चेन्टजस्तै फोन पे, युनियन पे इत्यादिको फिचर लिङ्क भएको हुन्छ ।

कुनै पनि सामान वा सेवा खरिद गर्ने स्थानमा क्यूआर कोड स्क्यान गर्ने सानो बोर्डमा मोबाइल बैङ्किङ एप खोली कोड स्क्यान गरी तिर्नुपर्ने रकम भुक्तानी गर्न सकिन्छ । यसको माध्यमबाट कारोबार गर्दा छोटो समयमा तत्कालै गर्न सकिन्छ । त्यसैले सबैभन्दा ठूलो फाइदा त समयको बचत हुन्छ भने नगद बोक्दा हराउने र चोरी हुने डर पनि हुँदैन ।

क्यूआर कोडमार्फत भुक्तानी गर्दा खुद्रा पैसाको झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने र ग्राहकबाट भुक्तानी भएको रकम बैङ्क खातामै जम्मा हुने हुँदा सुरक्षितसमेत हुन्छ । बैङ्कमा आवतजावत गर्न समय पनि नलाग्ने, क्यूआर कोडको प्रयोग गरेर सामान खरिद गर्दा कागजी नोटबाट कारोबार गर्दा हुने सम्भावित खतराबाट पनि जोगिन सकिन्छ ।

रोगका कीटाणु कागजी नोटमा लामो समयसम्म रहन सक्ने भएकाले त्यसको जोखिम पनि रहेन भने क्यूआर कोडका माध्यमबाट कारोबार गर्दा नोट च्यातिने र झुत्रा हुने समस्या पनि हुँदैन । नोट छपाइमा सरकारले ठूलो रकम खर्च गर्नुपर्ने भएकाले सो खर्च बचाउन पनि क्यूआर कोडको माध्यमबाट हुने कारोबारले ठूलो सहयोग पुग्छ ।

सफा ट्याम्पोमा पनि क्यूआर कोड
क्यूआर कोडको लहर सफा ट्याम्पोमा पनि प्रवेश गरेको छ । हालै प्रभु बैङ्क लिमिटेडले आफ्ना मोबाइल बैङ्किङ सेवा प्रयोगकर्तालाई काठमाडौँ उपत्यकामा चल्ने सफा ट्याम्पोमा यात्रा गर्दा क्यूआर कोडमार्फत भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।

क्यूआर कोड सेवा प्रभु बैङ्क र आइडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडौँ उपत्यकामा महिला सवारी चालकले सञ्चालन गर्दै आएका सफा ट्याम्पोमा उपलब्ध हुने भएको छ । यो सेवा अन्य बैङ्कका मोबाइल बैङ्किङ सेवा प्रयोगकर्ताले समेत उपभोग गर्नसक्ने भएका छन् ।

महिला सवारी चालकद्वारा सञ्चालन हुने सफा ट्याम्पोमा कम्पनीको क्यूआर कोड राखिएको छ । ट्याम्पोमा यात्रा गर्ने यात्रुले आफ्नो मोबाइलबाट क्यूआर कोड स्क्यान गरी सजिलै भाडा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया