नेकपा फुटले प्रतिगामी शक्तिहरु सल्बलाउन थालेः महामन्त्री सिंह

  पुष १७, २०७७

काठमाडौं, पुस १७ : नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फुटले देशको राजनीति र विकासमा असर परेको बताउनुभएको छ । महामन्त्री सिंहले शुक्रबार एक साक्षात्कार कार्यक्रममा सो कुरा बताउनुभयो ।

कोरोना संक्रमणले देशमा गम्भीर असर परेका बेला नेकपा फुट उचित होइन, यो फूटले राजावादीहरु र धर्म निरपेक्ष विरोधीहरु सल्बलाउन थालेको उहाँले बताउनुभयो । “पार्टी फुटबाट बचाउने अनेक उपायहरु हुन्छन्, मतभेदलाई छलफल र संवादबाटै हटाउन सकिन्छ” भन्नुहुँदै नेकपाका नेताहरुको आपसी दम्भका कारण नेकपा फुटको संघारमा पुगेको बताउनुभयो ।

नेकपा फुटको फाइदा उठाउन प्रतिगामी शक्तिहरु अहिले सक्रिय देखिएको बताउनुहुँदै महामन्त्री सिंहले भन्नुभयो, “छिमेकी मुलुक भारले नेपाललाई हिन्दूराष्ट्र बनाउन चाहन्छ, नेपालमा राजनीतिक स्थायित्व देख्न चाहँदैन, यो फुटले भारत सबैभन्दा बढी खुशी भएको छ ।” ओली नेतृत्व सरकारले यसअघि भारतीय नाकाबन्दी विरुद्ध उभिएर देशको मन जितेको तर अहिले पुनः भारतको सक्रियता बढेको चर्चा गर्नुभयो ।

नेकपा फुटका कारण भारतकोमात्र नभई अर्को छिमेकीमुलुक चीनको भूमिका पनि बढेको उहाँले टिप्पणी गर्नुभयो । तर चीनको भूमिका भारतको तुलनामा सकारात्मक भएको उहाँले बताउनुभयो । नेपाली राजनीतिक दललाई शक्ति राष्ट्रले प्रयोग गर्न खोजेको बताउनुहुँदै महामन्त्री सिंहले भन्नुभयो, “छिमेकी मुलुक भारतले अहिलेसम्म नेपालको संविधानलाई स्वीकार गरिसकेको छैन ।”

नेकपा फुटले जनताको कम्युनिष्ट प्रतिको विश्वास कमजोर हुँदैगएको बताउनुहुँदै महामन्त्री सिंहले बहुमत दिंदासमेत त्यसको सदुपयोग गर्न नसक्नु कमजोरी भएको बताउनुभयो । नेकपाको फुटले प्रतिगमनको हावा बढी चल्न थालेकाले चिन्ता बढेको बताउनुभयो । आफ्नो पार्टी यसअघि अध्यक्ष ओलीको राष्ट्रियता र आर्थिक समृद्धिको अभियानमा समर्थन गरेको भएपनि संसद विघटनले आफूहरु दुःखी भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया