टोकियो, पुस १६ : जापानको राजधानी टोकियोमा मात्रै कोरोनाभाइरसबाट बिहीबार एकैदिन थप १३ सय जना सङ्क्रमित भएका छन् । सङ्क्रमितको सङ्ख्या यसैगरी बृद्धि हुँदै गएमा संकटकाल लगाउनुपर्ने अवस्था आउनसक्ने सरकारी अधिकारीहरुले चेतावनी दिएका छन् ।
प्रधानमन्त्री योशिहिडा सुगाले संकटकाल लगाउन आवश्यक छ कि छैन भन्ने बारेमा सम्वन्धित मन्त्री र सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । बिहीबार बेलुका भएको छलफलबाट तत्काल संकटकाल लगाउने निर्णय भने नभएको उहाँले बताउनुभयो । तर संकटकाल लगाउनुपर्ने अवस्था आउन सक्ने बारेमा भने छलफलमा सहभागीहरुले बताएका थिए ।
बैठकपछि पत्रकारहरुसँग प्रधानमन्त्री सुगाले भन्नुभयो, “अहिलेसम्मको अवस्था हेर्दा सङ्क्रमणको दर बढ्दो छ, यो धेरै गम्भीर अवस्था हो ।” उहाँले सवै नागरिकलाई मास्क लगाउन, सावुन पानीले हात धुन, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न पनि आह्वान गर्नुभएको छ ।
स्थानीय सरकारसँग मिलेर प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न पनि उहाँले सरोकारवालाहरुलाई निर्देशन दिनुभएको जनाइएको छ । जापानको राजधानी टोकियोमा मात्रै एकैदिनमा एक हजार ३३७ जना सङ्क्रमित थपिएको विवरण सार्वजनिक भए लगत्तै प्रधानमन्त्री सुगाले थप सक्रियता र चिन्ता देखाउनुभएको हो ।
यो दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको जनाइएको छ । यसअघि सवैभन्दा धेरै गत शनिबार ९४९ जना रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । स्थानीय सञ्चार माध्यमहरुले देशभरि दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या चार हजारभन्दा बढी रहेको जनाएका छन् ।
टोकियोका गभर्नर युरिको कोइकेले पनि सङ्क्रमितको सङ्ख्या तीब्र रुपमा बढ्दै गएकाले अहिलेको अवस्था चिन्ताजनक हुँदै गइरहेको भन्दै उच्च सतर्कता अपनाउन सवैलाई आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो, “यो अति गम्भीर अवस्था हो, त्यसतर्फ हामी सवै सतर्क हुनुपर्दछ, अहिले नयाँ बर्ष मनाउने वा रमाइलो गर्ने अवस्था छैन ।”
कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने भएकाले भिडभाड नगर्न र घर बाहिर ननिस्कन पनि उहाँले सवैलाई आग्रह गर्नुभएको छ । जापानमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म तीन हजार ५०० भन्दा बढीको मृत्यु भएको छ ।






