अमेरिकी इतिहासका सबैभन्दा बढी श्रृखंलाबद्ध हत्या गर्ने ब्यक्तिको मृत्यु

  पुष १६, २०७७

काठमाडौं, पुस १६ : अमेरिकी इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी हत्यामा संलग्न ब्यक्तिको बिहीबार निधन भएको छ । क्यालिफोर्नियाको एक अस्पतालमा ८० वर्षीय सैम्युल लिटलको निधन भएको हो ।

तीन जना महिलाको हत्यामा संलग्नताको पुष्टि भएपछि सैम्युल आजीवन काराबासको सजाय काटिरहेका थिए । तर निधन हुँदासम्म सैम्युलले अहिलेसम्म ९३ जना महिलाको हत्या गरेको स्वीकार गरेका थिए । हत्याका सबै घटना सन् १९७० देखि २००५ का बीच भएको थियो ।

बीबीसीका अनुसार सैम्युलले हत्या भएका सबै कमजोर ब्यक्तिलाई लक्षित गरेका थिए । जसमध्ये अधिकांश यौन कारोबारमा संलग्न वा लागू औषध दुर्व्यसन गर्ने ब्यक्ति थिए । विगतका बक्सर सैम्युलले ब्यक्तिलाई मुक्काले हानेर हत्या गर्दै आएका थिए । ब्यक्तिको शरीरमा बुलेट वा अन्य घाउको चिन्ह समेत हुँदैनथ्याे । एफबीआइका अनुसार केही ब्यक्तिको मृत शरीर समेत फेला परेन ।

सन् २०१२ मा सैम्युललाई केनटकीबाट गिरफ्तार गरिएको थियो । प्रहरीले क्यालिफोर्निया लगेर सैम्युलको डीएनए परीक्षण गरेको थियो । सैम्युलमाथि हातहतियारसहित लुटपाट गरेको तथा बलात्कारका मुद्दा समेत चलाइएको थियो । त्यसैक्रममा सैम्युलमाथि सन् १९८७ देखि १९८९ सम्म लास एन्जेलसमा अनुसन्धान पूरा नभएका तीन वटा हत्याका घटनाको आरोप लाग्यो । र तीनवटै हत्यामा संलग्नताको पुष्टि भएपछि सैम्युललाई आजीवन काराबासको सजाय सुनाइयो ।

तपाईको प्रतिक्रिया