धनगढी, पुस १४ : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा पद्मुक्त हुनु भएको छ । नेकपामा पछिल्लो समय उत्पन्न विवादका कारण मन्त्री बोहराको पद् बर्खास्ती भएको हो ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संवैधानिक व्यवस्थालाई टेकेर मन्त्री बोहरालाई आज पद्मुक्त गर्नु भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्रालय मुख्यमन्त्रीले आफै सम्हाल्नु हुनेछ ।
बोहरा प्रधानमन्त्री ओली पक्षमा हुनुहुन्छ भने मुख्यमन्त्री भट्ट प्रचण्ड–नेपाल पक्षमा हुनुहुन्छ । सुदूरपश्चिम प्रदेश सभामा प्रचण्ड–नेपाल पक्ष हालसम्म बलियो रहेको छ । मुख्यमन्त्री भट्टले नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज डा. भीम रावलसंग छलफल गरेर मन्त्री बोहरालाई पद्मुक्त गर्नु भएको जनाइएको छ ।






