विराटनगर, पुस १२ : मुख्यमन्त्री शेरधन राईले संविधान र संघीयतालाई कार्यान्वयन हुन नदिन अनेकौं प्रयासको रुपमा आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने बताउनुभएको छ ।
प्रदेश १ प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता मन्त्रिपरिषद् कार्यालयमा पत्रकारसँगको कुराकानीमा मुख्यमन्त्री राईले कुत्सित षड्यन्त्रको सामना विकेकपूर्ण ढंगले गर्ने बताउनुभएको हो ।
प्रदेशसभाका मान्य सदस्यहरु विवेक पु-याउने हैसियतमा हुनुहुन्छ, मुख्यमन्त्री राईले भन्नुभयो– ‘बनिबनाउ, सुनियोजित र कतैबाट निर्देशित अविश्वासको प्रस्तावको सामना त्यहीं भित्रैबाट गर्नेछु ।’ उहाँले आफू विरुद्धको अविश्वासको प्रस्ताव मुख्यमन्त्रीले संस्थागत नेतृत्व गर्न नसकेको कारण नभई प्रदेशलाई तहसनहस बनाउने षड्यन्त्रको रुपमा आएको दावी गर्नुभयो ।
आरामले सामना गरेर संघीयता र प्रदेशलाई तहसनहस बनाउने चाहनालाई बिफल बनाउँछु, मुख्यमन्त्री राईले भन्नुभयो–पुनः सुविधाजनक बहुमतका साथमा प्रदेशको नेतृत्व गर्नेछु । उहाँले जनादेशबाट प्राप्त प्रधानमन्त्रीलाई बन्द कोठामा राखेर लेनदेनको हिसाब गर्ने प्रयास भएपछि ताजा जनादेशमा जानु परेको दावी गर्दै भन्नुभयो– ‘समृद्धिको यात्रामा अवरोधक देखिनेहरु जनतासँग डराइरहेका छन् ।’
प्रधानमन्त्रीलाई पार्टी भित्रैबाट घेराबन्दी गरेर समृद्धिको यात्राका लागि आवश्यक कामहरु गर्न नदिनेहरुले संविधान जारी हुँदाताकादेखि नै अवरोध गरिरहेको बताउनुभयो । ‘के प्रधानमन्त्रीले जनताको ‘म्यान्डेट’ लाई लेनदेनमा साट्न मिल्थ्यो ?’ मुख्यमन्त्री राईले प्रतिप्रश्न गर्दै भन्नुभयो– ‘जनताबाट निर्वाचित प्रधानमन्त्रीले जनादेश रोज्नु नै उत्तम विकल्प थियो ।’
संघीयतालाई संस्थागत हुन नदिने र प्रतिगमनलाई सहयोग पुग्ने गरि भएका गतिविधिको जनताले नै मूल्यांकन गर्ने बताउँदै उहाँले संसदीय मूल्य र मान्यता अनुसारको बाटो रोजेर अविश्वासको प्रस्तावको सामना गर्दै सरकारको नेतृत्वमा निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।
आइतबार नै मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा ३७ जना प्रदेशसभा सदस्यहरुले अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको छ । नेकपा प्रदेशसभा संसदीय दलका उपनेता टंक आङ्बुहाङको नेतृत्वमा गएको टोलीले अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । साथै दलको नेताबाट समेत हटाउन बहुमत सदस्यहरुले माग गरेका छन् ।






