काठमाडौं, पुस १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आगामी चुनावसम्म पार्टी एक भएर जानुमै पार्टी र देशको हित हुने बताउनुभएको छ । नेकपा ओली समूहका कैलालीबाट केन्द्रीय सदस्य हुनुभएका नेताहरुसँग आज आफ्नै निवास भैसेपाटीमा छलफल गर्नुहुँदै नेता गौतमले सो कुरा बताउनुभयो ।
आगामी निर्वाचनसम्म पार्टी एकतालाई कायम गर्न नसक्ने हो भने त्यसको फाइदा नेपाली काँग्रेससहित अन्य दलको पोल्टामा जान्छ उपाध्यक्ष गौतमले भन्नुभयो, “पार्टी एकता प्रयासमा मेरो संघर्ष अन्तिम समयसम्म रहन्छ, पार्टी एकता कायम हुन नसके आगामी निर्वाचनसम्म एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने वातावरण बनाउनुपर्छ ।”
उपाध्यक्ष गौतमसँग भएको छलफलबारे जानकारी दिनुहुँदै केन्द्रीय सदस्य दीपक देवकोटाले भन्नुभयो, “उपाध्यक्ष कमरेडले पार्टी एकताको प्रयास अन्तिम समयसम्म गर्छु भन्नुभएको छ, आफ्नो प्रयास सफल नभएमा अन्तिममा जनताको बहुदलीय जनवाद (जवज) विचार बोक्ने समूहसँगै मेरो भेट हुन्छ ।” उहाँले जबजलाई नै आफूले राजनीतिको मूल सिद्धान्त स्वीकार गरेको भेटमा भन्नुभएको नेता देवकोटाले जानकारी दिनुभयो ।
पार्टी फुटको दिशामा उन्मुख भए पनि एकअर्कालाई तल्लोस्तरको गालीगलौचमा उत्रन नहुने भन्नुहुँदै उपाध्यक्ष गौतमले भन्नुभयो, “मलाई भेट्न त आउनुभयो, मलाई गाली नगर्नुहोला र म पनि तपाईहरुलाई गाली गर्दैन, म अहिलेसम्म एकताको पक्षमै छुँ, तत्काल कुनै समूहमा लाग्दैन ।” नेता देवकोटाका अनुसार उपाध्यक्ष गौतमले आफू जबज छाडेर अन्यत्र जान नसक्ने बताउनुभएको थियो ।
उपाध्यक्ष गौतमलाई भेटन कैलालीबाट प्रतिनिधित्व गर्नुहुने नेकपाका केन्द्रीय सदस्यहरु देवकोटा, नारदमुनि राना, ममताप्रसाद चौधरी, जीवन्ती पौडेल, समबहादुर थापा, रणबहादुर चन्द, लीला भण्डारी लगायतका नेताहरु भैसेपाटी पुग्नुभएको थियो । साढे १० बजेदेखि १२ बजेसम्म छलफल भएको नेता देवकोटाले जानकारी दिनुभयो ।






