कोभिडको बेला अग्रपंक्तिमा काम गरेका आप्रवासीले नागरिकता पाउँदै

  पुष ०८, २०७७

काठमाडौं, पुस ८ : कोभिड–१९ को बेला अग्रपंक्तिमा रहेर काम गर्ने आप्रबासी कामदारलाई पुरस्कार स्वरुप फ्रान्सले नागरिकता प्रदान गर्ने भएको छ । उनीहरुलाई ‘फास्ट ट्रयाक’ विधि अपनाएर नागरिकता प्रदान गरिनेछ । फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले उक्त मापदण्ड पुरा गर्ने आप्रबासीलाई आवेदन दिन आव्हान गरेको छ ।

बीबीसीका अनुसार करिब सात सय आप्रबासी कामदारलाई नागरिकता दिने प्रकृया अन्तिम चरणमा पुगेको छ । नागरिकता पाउनेमा स्वास्थ्यकर्मी, सरसफाइ र पसलमा काम गर्ने कामदारहरु छन् ।अग्रपंक्तिमा रहेर काम गर्नेहरुमा कोभिड–१९ बाट अत्याधिक मात्रामा सङ्क्रमित भएका छन् । जसमध्ये चिकित्सक र नर्ससहितका अग्रपंक्तिका श्रमिकको मृत्यु भएकाे छ ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभाबित दश राष्ट्रमध्ये फ्रान्स पनि एक हो । फ्रान्समा २५ लाख ब्यक्ति सङ्क्रमित भएका छन् । ६२ हजारले ज्यान गुमाएका छन् । अग्रपंक्तिमा रहेर काम गर्ने आप्रबासीलाई पुरस्कारस्वरुप नागरिकता प्रदान गर्ने घोषणा सेप्टेम्बर महिनामै गरिएको थियो ।

हालसम्म ७४ जनाले फ्रान्सको राहदानी पाइसकेका छन् । ६९३ जना राहदानी पाउने अन्तिम चरणमा छन् । करिब दुई हजार ८९० अप्रबासीले आवेदन दिएका छन् । साधारणतया फ्रान्सको नागरिकता लिन अप्रबासीले कम्तिमा पाँच वर्ष फ्रान्समा अनिवार्य बसेको हुनुपर्छ । आम्दानी स्थिर हुनुपर्छ । फ्रान्सेली समाजमा घुलमिल गरेको हुनुपर्छ । तर यसरी नागरिकता पाउन अप्रबासीले लामो समय कुर्नुपर्ने हुन्छ ।

तर कोभिडको बेला अग्रपंक्तिमा रहेर काम गरेका आप्रबासीको हकमा उक्त कानूनमा संशोधन गरिएको छ । फ्रान्समा कम्तिमा दुई वर्ष बसेको हुनुपर्ने बनाइएको छ । र प्रमाणित भएपछि फास्ट ट्रयाकमा नागरिकता दिइने बनाएको छ ।सन् २०१७ मा फ्रान्समा आप्रबासीको जनसंख्या करिब ६४ लाख रहेको थियो ।

फ्रान्समा बहादुरी देखाएर लोकहित गर्नेलाई पहिलो पटक भने नागरिकता दिइएको छैन् । यसअघि पनि पेरिसको एक जना बालकलाई उद्धार गरे बापत् सन् २०१८ मा एक जना मलायालाई पुरस्कार स्वरुप नागरिकता प्रदान गरिएको थियो । तर यसपटक भने फ्रान्सको नयाँ ब्यवस्थाले सयौं आप्रबासीले सहजै नागरिकता पाउने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया