संवैधानिक पदाधिकारीको सिफारिसमा ५ जना प्रधानन्यायाधीशका ‘मान्छे’

  पुष ०६, २०७७

काठमाडौं, पुस ६ : संवैधानिक परिषद्को गत मंगलबार सुटुक्क बसेको बैठकले विभिन्न संवैधानिक आयोगमा सिफारिस गरेकामध्ये कम्तीमा ५ जना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नजिकका व्यक्तिहरू रहेको खुलेको छ ।

सर्वोच्च अदालत स्रोतका अनुसार कतिपयको पहिचान नखुलेकाले यो संख्या धेरै पनि हुन सक्छ । ४५ जनाको नाम सिफारिस भनिए पनि ३८ जनाको नाम मात्रै सार्वजनिक भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिस किशोर सिलवाल प्रधानन्यायाधीश जबराका पुराना साथी हुन् । काठमाडौं स्कुल अफ लका संस्थापकमध्येका उनी प्रधानन्यायाधीशकै कोटामा सिफारिसमा परेका स्रोतको दाबी छ ।

निर्वाचन आयुक्तमा सिफारिस रामप्रसाद भण्डारी वरिष्ठ अधिवक्ता हुन् । केही साताअघि उनको नाम न्यायपरिषद्को सदस्यका लागि चर्चामा थियो । नेकपानिकट भए पनि उनलाई प्रधानन्यायाधीशकै रुचिमा सिफारिस गरिएको बताइएको छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश तपबहादुर मगर यसअघि राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशक थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा सुशील प्याकुरेलको नाम सिफारिस गर्ने हल्ला चले पनि उनको विवादित ट्रयाक रेकर्ड र न्यूनतम शैक्षिक योग्यताका कारण प्रधानन्यायाधीशको सिफारिसलाई नै कार्यान्वयन गरे । प्रधानन्यायाधीश जबरासँग राम्रो सम्बन्ध भएका कारण प्रतिष्ठानमा जागिर पाएका पूर्वन्यायाधीश मगरले त्यहाँबाट ६ वर्षका लागि मानव अधिकार आयोगको अध्यक्षमा फड्को मारेका हुन् ।

न्याय सेवामा प्रवेश गर्नुअघि प्रधानन्यायाधीश जबरा वरिष्ठ अधिवक्ता किशोर अधिकारीको ल फर्ममा काम गर्थे । अहिले त्यही फर्ममा काम गर्ने अधिवक्ता मनोज दुवाडीलाई उनले मानव अधिकार आयोगको सदस्यमा सिफारिस गराएका छन् ।

समावेशी आयोगमा सदस्य बनेका डा. रामकृष्ण तिमिल्सिना सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार हुन् । सूचनाको हकसम्बन्धी कानुनका ज्ञाता उनलाई प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विज्ञका रूपमा नियुक्ति दिएका थिए । अहिले उनी समावेशी आयोगमा सिफारिस भएका हुन् । उनी नेसनल ल कलेजका पनि प्राचार्य रहेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

को कहाँ सिफारिस

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रमुख- प्रेमकुमार राई

सदस्य- जयबहादुर चन्द,

किशोर सिलवाल

निर्वाचन आयोग

आयुक्त- रामप्रसाद भण्डारी

डा जानकी तुलाधर

राष्ट्रिय मानवअधिकार आयोग

अध्यक्ष- तपबहादुर मगर

सदस्य- मनोज दुवाडी

सूर्य ढुंगेल

लिली बस्नेत थापा

मीहिर ठाकुर

राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोग

जुद्ब गुरुङ

अम्मरराज मिश्र

महिला आयोग

अध्यक्ष- कमला पराजुली

सदस्य- कृष्णकुमारी पौडेल

विद्याकुमारी सिन्हा

राष्ट्रिय दलित आयोग

अध्यक्ष- देवराज विक

सदस्यह- मीना सोब

पर्शुराम रम्तेल

तुन्ज बराइली

मेहेले पार्की

समावेशी आयोग

अध्यक्ष- रामप्रसाद खत्री

सदस्य-रामचन्द्र जोशी

रामकृष्ण तिमिल्सिना

हरिदत्त जोशी

आदिवासी जनजाति आयोग

अध्यक्ष- रामबहादुर थापा

सदस्य- मिनश्रीस मगर

मेन्चुङ लामा

रिना राना

चरण राई

मधेसी आयोग

सदस्य- जिवत्स साह

रेणुदेवी साह

विजय गुप्ता

थारु आयोग

सदस्य- विकास चौधरी

वविता चौधरी

सुवोध सिंह

भोलाराम चौधरी

मुस्लिम आयोग

सदस्य- महमुद्दिन अली

मिर्जा अरसद बेग

तपाईको प्रतिक्रिया