‘मानव अधिकार संरक्षणमा सबैको योगदान आवश्यक’

  मंसिर २५, २०७७

काठमाडौँ, मङ्सिर २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धन एवं कार्यान्वयनलाई सुनिश्चित गर्न सबैको योगदान आवश्यक रहेको बताउनुभएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा ७२औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रपतिले दिनुभएको शुभकामना सन्देशमा यस्तो विचार व्यक्त गर्नुभएको हो ।

सन् १९४८ डिसेम्बर १० तारिखमा विश्वव्यापी मानव अधिकार घोषणापत्र जारी भएको दिनलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका रूपमा प्रत्येक वर्ष मनाइने गरिन्छ । मानव अधिकारका विषयहरू अविभाज्य रहने र तिनको अन्तर्राष्ट्रिय आयाम हुने मान्यतालाई नेपाललगायत संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले स्वीकार गरेका छन् । नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा संवद्र्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च महìवका साथ अङ्गिकार गरेको छ ।

समावेशीकरणको नीतिद्वारा सबै वर्ग र समुदायका सीमान्तकृत नागरिकलाई राज्यको मूलधारमा समाहित गर्न पनि संविधानले मार्ग प्रशस्त गरेको छ । आधारभूत मानव अधिकारको प्रवद्र्धन र कार्यान्वयनका लागि संवैधानिक आयोग तथा विभिन्न निकाय क्रियाशील छन् । सन्देशमा राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘‘संविधानद्वारा प्रत्याभूत गरिएका मौलिक अधिकारको प्रभावकारी कार्यान्वयनबाट नै न्याय र समानतामा आधारित सामाजिक, आर्थिक व्यवस्था कायम भई समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सकिन्छ ।’’  

तपाईको प्रतिक्रिया