काठमाडौं, मंसिर २३ : सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८४८।८६ मिटर हुने भएको छ ।
मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर सार्वजनिक गरेका हुन् । नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको हो । नेपालले करीब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो । गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए ।
नेपाल सरकार र चीन सरकारी टोलीद्वारा छुट्टाछुट्टै रूपमा सगरमाथाको उचाइ मापन गरी प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाइएको थियो । मंगलबार नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यी लगायतको टोलीद्वारा भर्चुअल रूपमा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गरिएको हो ।
सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो । सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो ।
सन् १९५४ मा सर्भे अफ इन्डियाले बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर देखिएको थियो । यही उचाइलाई सबैले मान्दै आए पनि पछिल्लो समय चीन र नेपालबीच सगरमाथाको उचाइबारे एकमत थिएन । गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्न सहमत भएको थियो ।