प्रधानमन्त्रीद्वारा वरिष्ठ नेता नेपालसहितका चार नेतासँग सहयोगको आग्रह

  कार्तिक २४, २०७७

काठमाडौं, कात्तिक २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका चार जना नेतालाई बालुवाटारमा बोलाएर आज आइतबार छलफल गर्नुभएको छ । पार्टीमा देखिएको पछिल्लो समस्या र समाधानका उपायबारेमा परामर्श भएको बैठकमा सहभागी नेताहरुले बताउनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको करिब दुई घण्टा लामो छलफलमा विद्यमान समस्यालाई पार्टीको बैठकबाटै सल्टाउनु पर्ने सुझाव बैठकमा सहभागी नेताहरुले दिनुभयो ।

शुक्रबार मात्रै पाँच जना सचिवालयका सदस्यहरुले लिखित पत्र पेश गर्दै पार्टी बैठकको माग तथा समस्या समाधानको पहलका लागि प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो । स्थायी कमिटी सदस्य भीमबहादुर रावलकाअनुसार प्रधानमन्त्रीले छलफलका लागि बोलाउनुभयो, केही सुझाव र परामर्श गर्नुभयो तर ठोस प्रस्ताव र सहमति भने केही भएन । “पार्टीको विषयलाई लिएर दुई पृष्ठको लिखित पत्र प्राप्त भएको छ, यस विषयमा कसरी अगाडि बढ्ने भन्ने सुझाव प्रधानमन्त्रीले माग्नुभयो, हामीले आफ्नो सुझाव दियौं” बैठकमा सहभागी नेता रावलले बताउनुभयो ।

पार्टीभित्र देखिएको पछिल्लो विवादले पार्टी पङ्ति र कार्यकर्तामा नकारात्मक सन्देश प्रवाह भएको भन्नुहुँदै प्रधानमन्त्री ओलीले समस्या समाधानमा सहयोग गर्न वरिष्ठ नेता माधवकुमार नेपालसहित उपस्थित नेताहरुलाई आग्रह गर्नुभएको बुझिएको छ । जवाफमा नेता नेपालले पार्टी कुनै हालतमा फुट्न नदिने तर समस्या समाधानको स्पष्ट खाका ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभयो । “समस्या समाधानको उपाय भनेकै पार्टीको नियमित बैठक हो, बैठक राखौं, त्यहाँ छलफल गरेर ठोस निस्कर्षमा पुगौं भनेर हामीले सुझाव दियौं, प्रधानमन्त्रीले गम्भीरतापूर्वक सुन्नुभयो” नेता रावलले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

बैठक कहिले बोलाउने विषयमा प्रधानमन्त्री ओलीले कुनै जवाफ नदिनु भएपनि पार्टीको समस्या समाधानमा सहयोगको आग्रह गर्नुभएको नेता रावलले बताउनुभयो । प्रधानमन्त्री ओलीलाई भेट्न वरिष्ठ नेता नेपाल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त बालुवाटार पुग्नुभएको थियो । हिजो शुक्रबार मात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु झलनाथ खनाल, नेता नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेर बैठकको माग गर्दै लिखित पत्र प्रधानमन्त्रीलाई बुझाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया