काठमाडौँ, कात्तिक २२ : नेपाल बार एशोसिएसनले न्याय परिषद सदस्यका लागि सिफारिस गर्ने नाम शनिबार मतदानबाट टुंगो लगाएको छ । बार कमिटीले बहुमतको निर्णयका आधारमा बरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।
यसले न्यायपरिषदमा कार्यपालिकाको प्रभाव विस्तारका लागि आफूले चाहेको सदस्य पठाएर बहुमत जुटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास असफल भएको छ । बारको कोटाबाट न्यायपरिषद सदस्य बन्न पाइने एकजनाको सीटमा ३२ जना वकिल आंकाक्षी थिए । डेमोक्र्याट खेमाबाट हरिशंकर निरौलासमेत आंकाक्षी थिए ।
आज बसेको कार्यसमिति बैठकले बारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने परिषद्को सदस्यका लागि सुनसरी जिल्ला, धरान नगरपालिका धर्मपथ घर भई हाल काठमाडौँ बस्ने वरिष्ठ अधिवक्ता श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिनुभयो ।
वरिष्ठ अधिवक्ता श्रेष्ठको कानून व्यवसायी प्रमाणपत्र नम्बर ९२ छ । बारका तर्फबाट न्याय परिषद् सदस्यमा नियुक्त गरिने सदस्यका लागि श्रेष्ठको नाम सिफारिस भएको हो । बारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था छ ।






