काठमाडौँ, कात्तिक २२ : काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौँको न्युनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो । आज काठमाडौँ उपत्यकामा यस वर्ष जाडो शुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको हो ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको केहीदिन देशभर तापक्रम निरन्तर घट्दै जाने क्रममा रहेको छ । “दिउँसो घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ”, मौसमविद् मानन्धरले भन्नुभयो, “केही दिन तराईमा पातलो कुइरो लाग्ने र पहाडमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर बनाउनेछ ।” मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहनेछ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस २ डिग्रीमा झरेको छ ।
हिमाली जिल्लामा चिसो बढ्यो
खलंगा : जुम्लालगायत हिमाली जिल्लामा चिसो बढेपछि जनवीवन प्रभावित हुन थालेको छ । मौसम फेरिएसँगै एक्कासी तापक्रम घटेको हो । जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार तापक्रम माइनस १ डिग्री झरेको छ । कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम भने २० दशमलप १ रहेको छ ।
चिसो बढेपछि मानिस बाक्लो कपडा लगाउने, न्यानो बनाएर बस्ने तथा तातोपानीको प्रयोग गर्न थालेका छन् । बाक्लो ज्याकेट, बाक्लो कोट, टोपी, तातो जुत्ता र मोजाका साथै घरमा आवश्यक बाक्लो कपडाहरू खरिद गर्नेहरू पनि बढेका छन् । विशेषगरी यहाँका बलबालिका र ज्येष्ठनागरिकमा रुघाखोकी बढ्न थालेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका अस्पतालका निर्देशक डा. मंगल रावलले रुघाखोकी र श्वास प्रश्वासका बिरामी केही बढेका बताउनुभयो । उहाँका अनुसार अहिले कोरोना पनि भएकाले कोरोना वा रुघाखोकी छुट्टाउन सर्वसाधारणलाई अन्योल भएको छ । मौसम परिर्वतनको समय र कोरोना महामारीसमेत भएकाले यहाँका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको उहाँले बताउनुभयो । न्यानो कपडा लगाउन, तातोपानी खान, भीडभाड नगर्ने तथा व्यक्तिले आफैँ जनस्वास्थ्यको मापदण्ड पालना गरी सुरक्षित हुन दिइएको डा रावलले जानकारी दिनुभयो ।
एक सातादेखि नै बादल लागि रहेकाले उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने अनुमान गरिएको छ । मेशीनरी सामान तथा सवारी साधन पनि चिसोले जाम हुन थालेका छन् । सोलार प्यानलमा तुषारो जम्ने भएपछि टेलिफोन तथा इन्टरनेटमा समेत समस्या शुरु हुन थालेको छ । चिसोले पत्रिका छाप्ने छापाखानामा पनि प्रभावित हुन थालेको कर्णाली सरोकार दैनिकका व्यवस्थापक धर्मसिंह कठायतले बताउनुभयो । यसैगरी चिसो बढेपछि तातोपानीमा नहाउनेको भीडसमेत बढेको छ ।