राष्ट्रपति ट्रम्पको चुनावी अभियानद्वारा तीन राज्यमा मतगणना रोक्न उजूरी

  कार्तिक २०, २०७७

वासिङटन, कात्तिक २० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको जनाउँदै पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गर्दै अदालतमा बुधबार उजूरी गरेको छ ।

राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोट (निर्वाचक प्रतिनिधि) प्राप्त गर्न यी राज्यको मत परिणाम आफ्नो पक्षमा पार्नु जरुरी देखिएको छ । पछिल्ला मतगणनामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले अग्रता लिन थालेपछि ट्रम्पका तर्फबाट उजूरी गरिएको हो ।

उजूरीमा मतपत्र राखिएका स्थान र मतगणना स्थलसम्म आफ्ना प्रतिनिधिको पहुँच सुनिश्चित गर्न ट्रम्पको चुनावी अभियानका तर्फबाट आग्रह गरिएको छ । ट्रम्प अभियानले धाँधलीको आरोप लगाएको मिचिगनको एक चुनावी मतगणना स्थलमा एपीले गरेको अध्ययनमा दुबै पक्षका प्रतिनिधिहरुको रोहबरमा मतगणना भएको देखिएको छ ।

एपीका अनुसार मिचिगनमा डेमोक्रेट पार्टीका जो बाइडेनले विजय हासिल गर्नुभएको छ । यद्यपि यहाँ औपचारिक घोषणा हुन बाँकी छ । नेभादा, पेन्सिलभेनिया र जर्जियामा अझै पनि मतगणना कार्य जारी रहेको र दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको देखिएको छ । 

ट्रम्प अभियानले पेन्सिलभेनियाको मतगणनाको विषयलाई सर्वोच्च अदालतमा पनि चुनौती दिने तयारी गरेको छ । ट्रम्पका उप चुनावी व्यवस्थापक जस्टिन क्लार्कले चुनाव भएको तीन दिनभित्र हुलाकबाट प्राप्त भएका मतपत्र गणना गर्ने वा नगर्ने भन्ने विषयले अन्यौल बढाएको छ, र यसको निरुपण अदालतबाट हुनेछ भन्नुभयो ।

राष्ट्रपति ट्रम्पले यही विषयलाई चुनावी प्रचारका क्रममा लगातार उठाउँदै आउनुभएको थियो । उहाँले हुलाकबाट प्राप्त हुने मतपत्रले चुनावमा धाँधली हुने भन्दै आफू सर्वोच्च अदालत जाने बताउनुभएको छ ।

ट्रम्पको चुनावी अभियानले विस्कन्सिन राज्यमा पुनः मतगणनाका लागि आग्रह गर्ने घोषणा पनि गरेको छ । यो राज्यमा एपीको प्रक्षेपण अनुसार जो बाइडेनले विजय हासिल गर्नुभएको छ । ट्रम्पका चुनावी व्यवस्थापक बिल स्टेपियानले विस्कन्सिन राज्यमा धेरै अनियमितता भएको दाबी गर्नुभएको छ तर कहाँ, कसरी धाँधली भए भन्ने बारेमा केही बताउनुभएको छैन ।

बाइडेनले बुधबार नै सबै राज्यमा मतगणना निरन्तर हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “हाम्रो लोकतन्त्रलाई कसैले अपहरण गर्न सक्दैन – अहिले मात्र होइन, सधैं ।” पेन्सिलभेनिया राज्यमा कुनै पनि किसिमको धाँधली वा मतपत्रसँग सम्बन्धित कुनै विषय उठेको समाचार आएका छैनन् । यस राज्यमा ३१ लाखले हुलाकबाट मतदान गरेका थिए । नोभेम्बर ३ भित्र हुलाकमा रजिष्टर भएका मतदाताको मतगणना गर्न सकिने व्यवस्था छ ।

पेन्सिलभेनिका महान्यायाधिवक्ता जस शापिरोले सिएनएनसँगको अन्तर्वार्तामा ट्रम्प अभियानले दिएको निवेदनको कानुनीभन्दा पनि राजनीतिक महत्व मात्र रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “यस प्रक्रियामा पूर्ण पारदर्शिता छ । मतगणना कार्य जारी छ । प्रतिनिधिहरुले मतगणनाको सम्पूर्ण प्रक्रियालाई अवलोकन गरिरहेका छन्, र मतगणना कार्य जारी रहनेछ ।”

तपाईको प्रतिक्रिया