पूर्वसभामुख महराकी पत्नी सीता महराको कोरोना संक्रमणबाट निधन

  कार्तिक १९, २०७७

काठमाडौं, कात्तिक १९ : प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको बुधबार निधन भएको छ । ५९ वर्षीया महरापत्नी सीताको उपचारका क्रममा नर्भिक अस्पतालमा बुधबार बिहान निधन भएको हो ।

गएको दशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि उहाँलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा उपचाररत सीता महराको बुधबार बिहान ६ बजेर २५ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कृष्णबहादुर महराका स्वकीय सचिव डिल्ली मल्लका अनुसार नर्भिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा सीतालाई कोरोना संक्रमण पनि देखिएको थियो । सीता १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित रहेको पनि मल्लले जानकारी दिनुभयो । विक्रम संवत २०१८ साउन १३ गते रोल्पामा जन्मिनुभएकी सीताले २०३५ सालमा कृष्णबहादुर महरासँग विवाह गर्नुभएको थियो । महराका दुई छोरा र दुई छोरी रहेका छन् ।

महरापत्नी सीताको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुस्ख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सीता महराको निधनबाट अत्यन्त दुस्ख लागेको बताउँदै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया