काठमाडौँ, कात्तिक १४ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैँ बिदामा ३० वटा व्यवसायी फर्मको अनुगमन गरेर एक चौथाइलाई कारबाही गरेको दाबी गरेको छ । विभागका निर्देशक रवीन्द्र आचार्यको नेतृत्वमा दशैँमा बढी कारोबार हुने लत्ताकपडा, माछामासु, खाद्यान्न, प्रशोधित खानेपानी, तरकारी, फलफूल र मिठाई पसलको अनुगमन थियो ।
अनुगमनको नेतृत्व गर्नुभएका निर्देशक आचार्यले विगतका वर्षहरूमा दशैँ बिदामा उपभोक्ता ठगिने गरेकाले यस वर्ष दशैँ बिदामा समेत अनुगमनलाई निरन्तरता दिएको जानकारी दिनुभयो । उहाँले दशैँमा माछामासु, खाद्यवस्तु, लत्ताकपडाको बढी कारोबार हुने भए पनि उपभोक्ताले गुनासो बढी प्रशोधित पिउने पानीमा गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार यसबीचमा पानी उद्योगको अनुगमन गरिएकोमध्ये टोखा नगरपालिकाको शुभलक्ष्मी फुड एन्ड वेभरेज प्रालिको पानी उद्योगलाई सिलबन्दी गरिएको छ भने तारकेश्वर नगरपालिकाको मनमैँजुमा रहेको त्रिशूली मिनरल एन्ड वेभरेज प्रालिलाई जरिवाना गरिएको छ ।
शुभलक्ष्मी पानी उद्योगले पानी उद्योग सञ्चालनका लागि गर्नुपर्ने उद्योग दर्तादेखि अनुज्ञापत्र केही पनि नगरेको पाइएपछि सिलबन्दी गरिएको निर्देशक आचार्यले जानकारी दिनुभयो । पानी उद्योग सञ्चालन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट गुणस्तर प्रमाणित अनुज्ञा पत्र लिनुपर्छ भने उद्योग कानुनी रूपमा दर्ता भएको हुनुपर्छ ।
उहाँले त्रिशूली पानी उद्योगले अनुज्ञा पत्र लिएको भए पनि उपत्यका खानेपानी बोर्डसँग इजाजत नै नलिई भूमिगत पानी तानेर बोतल तथा जारमा भरेर बिक्री गर्ने गरेको पाइएकाले ५० हजार जरिवाना गरिएको जानकारी दिनुभयो ।
६०१ फर्ममध्ये १०८ वटालाई जरिवाना
विभागका अनुसार विभागले असोज ८ देखि कात्तिक १२ सम्म ६०१ वटा व्यवसायी फर्मको अनुगमन गरेकामा सातवटा व्यवसायी फर्मको कारोबार रोक्का गरेको छ भने दुई उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ ।
विभागले यस अवधिमा ७० वटा व्यवसायी फर्मसँग स्पष्टीकरण सोधिएको छ भने १०८ वटा व्यवसायी फर्मलाई जरिवाना गरेर ३८ लाख रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ । यस अवधिमा ३९० वटा व्यवसायी फर्मलाई तत्काल सुधारको निर्देशन दिइएको र एक लाख २५ हजार ३०० मूल्य बराबरका म्याद नाघेका सामान नष्ट गरिएको विभागका निर्देशक रवीन्द्र आचार्यले जानकारी दिनुभयोध्र
तरकारी ५४ प्रतिशतसम्म सस्तियो
दशैँअघि देखि महँगो भएको हरियो तरकारी दशैँको तीन दिनपछि भने थोक बजारमा ५४ प्रतिशतसम्म सस्तो भएको छ । खुद्रा बजारमा भने आमउपभोक्ताले त्यो सस्तो मूल्यको महसुस गर्न पाएका छैनन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आलु, गोलभेँडालगायतका हरिया तरकारीमा ५ देखि ४५ प्रतिशतसम्म भाउ घटेको छ ।
सुकेको प्याजको भाउ भने दशैँका दिन प्रतिकेजी ११५ रूपियाँमा किनबेच भएकामा आज बढेर थोकमै १४५ रुपियाँ पुगेको छ । स्थानीय काउली, घिउ सिमी, मूला, बन्दालगायतको भाउ घटेको छ भने सबैभन्दा बढी प्रतिकेजी ११० पुगेको सानो गोलभेँडा ५० रुपियाँ थोकमा कारोबार भएर ५४ प्रतिशत घटेको समितिले जनाएको छ ।