सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बलमा १० हजार जनशक्ति अझै अपुग

  कार्तिक १४, २०७७

काठमाडौँ, कात्तिक १४ : नेपाल–भारत तथा नेपाल–चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा आउट पोष्ट (बीओपी) कार्यालयको सङ्ख्या १७७ पुगेको छ । अझै २२१ वटा बीओपी अत्यावश्यक रहेको सशस्त्र प्रहरीको भनाइ छ । यसका लागि सरकारको योजना कार्यान्वयनका लागि अझै १० हजार जनशक्ति अभाव रहेको सुरक्षा अधिकारीको दाबी छ ।

सीमा सुरक्षा पोष्ट ११ देखि १५ किलोमिटरको दूरीमा छन् । बीओपीको स्थापना देशको सीमा सुरक्षासँग जोडिएकाले प्रभावकारी परिचालन, उचित बन्दोबस्ती र स्थायी संरचनासँगै पर्याप्त जनशक्तिको आवश्यकता रहेको छ । सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालले भन्नुभयो, ‘‘सीमा सुरक्षाका लागि अझै १० हजार जनशक्ति अपुग छ, छिमेकी देशको तुलनामा हाम्रो उपस्थिति निकै कमजोर छ । नेपालसँगको सीमा क्षेत्रमा भारतले ५३० वटा सीमा सुरक्षा कार्यालय सञ्चालनमा ल्याएको छ।’’

सुरक्षा पोष्टको सङ्ख्या भने थप्ने क्रम जारी छ । नेपाल–चीन सीमा क्षेत्र सङ्खुवासभाको किमाथाङ्का र मुस्ताङको कोरोला नाकामा केही हप्ताअघि नयाँ ‘बीओपी’ स्थापना भएसँगै सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टको सङ्ख्या यति पुगेको हो । सीमा सुरक्षा पोष्टको स्थापनाले नेपालको सीमा अतिक्रमण रोक्न तथा अपराध गतिविधि नियन्त्रण गर्न र शान्तिसुरक्षा कायम राख्न सशस्त्र प्रहरीको उपस्थिति प्रभावकारी बन्दै गएको दाबी सुरक्षा अधिकारीको छ ।

सशस्त्र प्रहरी बलका अनुसार, १७७ मध्ये सातवटा नयाँ बीओपी चीन सीमा क्षेत्रसँग र बाँकी भारत सीमा नाका क्षेत्रमा रहेका छन् । सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालका अनुसार, बीओपीको सङ्ख्या पाँच सयसम्म पु¥याउने योजना छ । तीमध्ये कम्तीमा २२१ वटा स्थापना गरेमा सीमा क्षेत्रको धेरै समस्या समाधान हुन्छ । सीमा स्तम्भ र सीमा भूमि सुरक्षामा सहयोग पुग्नेछ ।

भारतसँग सीमा जोडिएको क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टको स्थापनाले दुई देशबीचको सीमा अतिक्रमण, अवैध तस्करी, लागू औषध तथा अन्य आपराधिक गतिविधिमा पूर्ण नियन्त्रण आउने दाबी उहाँको छ । हाल, प्रदेश–२ मा ५७, प्रदेश–१ मा ३६, लुम्बिनी प्रदेशमा ३५, सुदूरपश्चिम प्रदेशमा ३८, बागमती प्रदेशमा आठ, गण्डकी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक गरी एक सय ७७ सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट सञ्चालनमा छन् ।

वि.सं. ०६५÷६६ सालबाट सीमा सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको सशस्त्र प्रहरी बलले ४७ वटाबाहेक अन्य १३० वटा सीमा सुरक्षा कार्यालय भाडाको भवन तथा अस्थायी घर टहराबाट सञ्चालन गर्दै आएका छन् । सीमा सुरक्षा जस्तो संवेदनशील विषयमा पहिलो प्राथमिकतामा सीमा सुरक्षा कार्यालय स्थापना, त्यसपछि भौतिक संरचना तथा पूर्वाधार निर्माण कार्य हुँदै गर्छ भन्ने रणनीतिअनुरुप बीओपी स्थापना कार्यमा जोड दिएको भनाइ उहाँको छ ।

प्रत्येक सीमा सुरक्षा पोष्टमा सीमा क्षेत्र तथा सुरक्षा अवस्थाको मूल्याङ्कन गरी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) र सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ देखि ५० जनासम्मको जनशक्ति परिचालन हुँदै आएको छ । सीमा सुरक्षाका लागि यो जनशक्ति न्यून हो । त्यस्तै, सीमा क्षेत्रमा कम्तीमा तीनदेखि चार किलोमिटरको दूरीमा बीओपी राख्नुपर्ने आवश्यकता सशस्त्र प्रहरीले औँल्याएको छ । भारतले पनि नेपालको सीमा क्षेत्रमा सोही दूरीका आधारमा सुरक्षा कार्यालय सञ्चालनमा ल्याएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया