बिहारमा पहिलो चरणको निर्वाचन, ७१ पदका लागि १०६६ उम्मेदवार

  कार्तिक १२, २०७७

पटना, कात्तिक १२ : भारतको बिहारमा विधानसभाका लागि बुधबार पहिलो चरणको निर्वाचन भइरहेको छ । बिहारमा तीन चरणमा चुनाव हुँदैछ ।

पहिलो चरणमा ७१ पदका लागि एक हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ । तीमध्ये ९५२ जना पुरुष र १५५ जना महिला छन् । बिहानैदेखि भइरहेको मतदानमा कोरोनाभाइरसबाट जोगिन मतदाताहरुलाई आधारभूत मापदण्ड अपनाउन आह्वान गरिएको छ ।

बुधबार मतदान भइरहेको क्षेत्रमा कुल दुई करोड १४ लाख ८४ हजार ७८७ जना बैध मतदाता छन् । तीमध्ये पुरुष एक करोड १२ लाख ७६ हजार ३९६ जना र महिला एक करोड एक लाख २९ हजार १०१ रहेको आयोगले जनाएको छ ।

निर्वाचन सम्पन्न गराउन ७८ हजार ६९१ जना निर्वाचन कर्मचारी खटिएका छन् । बिहार राज्य अन्तर्गतका १६ जिल्लामा निर्वाचन भएको हो । मतदानका बेला अपनाउनुपर्ने मापदण्डका बारेमा निर्वाचन आयोगले निर्देशिका नै बनाएर जारी गरेको छ । भारतमा कोरोनाभाइरसको महामारी चलिरहेकै बेला पहिलोपटक निर्वाचन भइरहेको हो ।

मापदण्डमा विद्युतीय मतदान यन्त्रलाई सेनिटाइज गर्नुपर्ने, सबैले मास्कको प्रयोग गर्नुपर्ने, प्रतिरक्षात्मक अन्य साधनको प्रयोग गर्नुपर्ने, सेनिटाइजर, साबुन र पानी सबैलाई पर्याप्त उपलब्ध गराउनुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका कुरा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उच्च सतर्कताका साथ मतदान कार्यमा सहभागी हुन सबैलाई अपिल गर्नुभएको छ । मापदण्डहरु पूर्णरुपमा पलना गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया