देल्ही क्यापिटल्स हैदराबादबाट ८८ रनको विशाल अन्तरले पराजित

  कार्तिक १२, २०७७

काठमाडौं, कात्तिक १२ : इन्डियन प्रिमियर लिगको ४७ औं खेलमा सनराइजर्स हैदराबादले देल्ही क्यापिटल्सलाई ८८ रनको विशाल अन्तरले हराएको छ । देल्हीले हार बेहोरेपनि सामान १४ अङ्कसहित अङ्कतालिकामा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लौरपछि तेस्रो स्थानमा रहेको छ । मुम्बई र बैंग्लौरले ११ खेल मात्रै खेलेको छ । देल्हीले अब दुई खेल खेल्न बाँकी छ ।

दुबईमा हैदराबादले प्रस्तुत गरेको २२० रनको विशाल लक्ष्य पछ्याउने क्रममा देल्हीले १९ ओभरमा मात्र १३१ रन तयार गर्न सक्यो । एक रन जोड्दा शिखर धवनको रुपमा पहिलो विकेट गुमाएपछि दबाबमा आएको देल्हीले निरन्तर विकेटको पतन हुनबाट जोगाउन सकेन । उसको पारीमा कप्तान ऋषभ पन्तले बनाउनुभएको ३६ रन नै सर्वाधिक ब्यक्तिगत योगफल रहन गयो । अजिन्क्यै रहानेले २६ र तुषार देशपाण्डेले २० रनको योगदान दिनुभयो । देल्हीलाई झिनो योगफलमा समेटन राशिद खानले सर्वाधिक तीन विकेट लिनुभयो । सन्दीप शर्मा र टी नटराजनले दुई दुई तथा शहबाज नदीम, जैसन होल्डर र विजय शंकरले एक एक विकेट लिनुभयो ।

यसअघि दुबईमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको हैदराबादका लागि ओपनर देवीड वार्नर ऋधिमन शाहले पहिलो विकेटका लागि १०७ रनको साझेदारी गरेपछि ऊ विशाल योगफल तर्फ लम्केको थियो । वार्नरले मात्र ३४ बलमा ६६ रन तथा शाहले मात्र ४५ बलमा ८७ रनको योगदान दिनुभयो । मनिष पाण्डे ४४ तथा केन विलियम्सन ११ रन बनाएर अविजित रहनुभयो ।देल्हीका लागि एनरिक नोर्जे र रबिचन्द्रन आश्विनले सामान एक एक विकेट लिनुभयो । पछिल्लो खेलहरुमा देल्हीका स्पिन बलरहरु अक्षर पटेल र रबिचन्द्रन आश्विनको प्रदर्शन प्रभावकारी हुन सकेको छैन् । तेस्रो स्पिनर सन्दीप लामिछानेले अवसर पाउन सकेको छैन् ।

तपाईको प्रतिक्रिया