एक हजार ९५४ कोरोना संक्रमित थपिए, दुई हजार ९८१ संक्रमणमुक्त

  कार्तिक १२, २०७७

काठमाडौं, कात्तिक १२ : पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार ९५४ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । आज मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा आठ हजार २४८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

यसैगरी आज दुई हजार ९८१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ६४३ रहेको मन्त्रालयद्वारा आज आयोजित नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरका २९ गरी काठमाडौँ उपत्यकामा कूल ८४३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक लाख २१ हजार ८२४ रहेको छ । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ८८७ पुगेको छ । कोरोना सङ्क्रमित मध्ये हाल २९० जनाको आइसियुमा र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी संस्थागत आइसोलेसनमा सात हजार ७०९ जना र होम आइसोलेसनमा ३१ हजार ९३४ जना रहेको मन्त्रालयले जनाएको छ । मुलुकभरका विभिन्न क्वारेन्टिनमा रहेका हाल दुई हजार ८८९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया