आईपीएलको फाइनल खेल दुबईमा हुने

  कार्तिक ११, २०७७

काठमाडौं, कात्तिक १० : इन्डियन प्रिमियर लिग २०२० को फाइनल खेल नोभेम्बर १० मा दुबईमा हुने सुनिश्चित गरिएको छ । पहिलो क्वालिफायर खेल पनि नोभेम्बर ५ मा दुबईमा नै हुनेछ ।

प्रिमियर लिग सञ्चालन गर्ने निकायले आइतबार बिहान क्वालिफायर, एलिमिनेटर र फाइनल खेलको लागि क्रिकेट ग्राउण्ड निक्र्योल गरेको हो । तेस्रो र चौथो हुने टोलिबीचको एलिमिनेटर र दोस्रो क्वालिफायर खेल अबुधाबीमा नोभेम्बर ६ र ८ मा हुने तय गरिएको छ । सबै प्ले अफ खेल नेपाली समयानुसार राति पौने आठ बजेबाट सुरु हुनेछ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले प्रतियोगिता सुरु हुनुभन्दा दुई साता अघि मात्रै सेप्टेम्बर पहिलो साता इन्डियन प्रिमियर लिगको १३ औं संस्करणको तालिका सार्वजनिक गरेको थियो । जसमा अबुधाबीले २०, दुबईले २४ र शारजाहले १२ खेलको आयोजना गरेको छ ।
प्रिमियर लिग सुरु भएको १३ वर्षमा पहिलो पटक दर्शकको अनुपस्थितिमा लिग खेलाइएको छ ।

सन् २००९ को पुरा संस्करण नै दक्षिण अफ्रिकामा खेलाइएको थियो । सन् २०१४ को २० वटा खेल यूनाइटेड अरब एमिरेट्समा खेलाइएको थियो । यसपटक भने भारतमा कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण प्रिमियर लिगको सम्पूर्ण संस्करण नै यूएईमा गर्नुपरेको छ ।

तपाईको प्रतिक्रिया