स्वास्थ्यकर्मीले अस्पतालमै लगाइदिए संक्रमितलाई दसैँको टीका

  कार्तिक १०, २०७७

नेपालगञ्ज, कात्तिक १० : विजयादशमीको दिनमा सबैले आ-आफ्नो घरमा रमाइलो गरेर दसैँ मनाईरहेको बेला संक्रमित भएर भेरी अस्पतालमा भर्ना भएकाहरुले पनि त्यही भित्रै टीका लगाएर दसैं मनाएका छन् ।

सोमवार दसैंको दिनमा पनि संक्रमितको सेवामा खटिनुभएका भेरी विशेष कोराना अस्पतालका स्वास्थ्यकर्मीहरुले संक्रमितहरुलाई टीका लगाएर शुभकामना दिंदै दसैं मनाएको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले संक्रमितको उपचारमा खटिनुभएका स्वास्थ्यकर्मीहरुले सबै संक्रमितलाई टीका लगाएर प्रसाद वितरण गरी दसैं मनाएको बताउनुभयो ।

संक्रमित भएर त्यहाँ उपचार गराइरहनुभएका भेरी अस्पतालका बायोमेडिकल टेक्निसियन नविन चन्द ठकुरीले संक्रमितको उपचार सेवामा दिनरात खटिनुभएका कोभिड इन्चार्ज सम्झना मण्डल, स्टाफ नर्सहरु यम कुमारी थापा, कमला नेपाली र देवा जिसीले सबै संक्रमितलाई टिका लगाउनुभएको बताउनुभयो ।

उहाँले स्वास्थ्यकर्मीहरुले टीका लगाएपछि आफन्त र घर परिवार नहुँदा निराश भएकाहरुलाई धेरै राहात मिलेको बताउनुभयो ।

आफ्नो ज्यानको परवाह नगरि दिनरात संक्रमितको सेवा गर्ने स्वास्थ्यकर्मीहरुले टीका लगाएपछि धेरै खुशी लागेको एक संक्रमितले बताउनुभयो । उहाँले एक्कासि टीका लगाउन स्वास्थ्यकर्मीहरु आएपछि दुखी भएर बसेका सबै संक्रमितको अनुहारमा उज्यालो र मुस्कान देखिएको बताउनुभयो ।

अस्पतालका बायोमेडिकल टेक्निसियन ठकुरीका अनुसार हाल भेरी विशेष कोराना अस्पतालमा ८ जना स्टाफसहित ४५ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये आठ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

उपचाररत संक्रमितको मनोबल उच्च पार्नका लागि आफूहरुले उपचार सेवा लगायत सबै प्रकारका गतिविधि पनि निरन्तर गरिरहेको कोभिड इन्चार्ज सम्झना मण्डलले बताउनुभयो । उहाँले उच्च मनोबल राखेर कोरोनासँग लड्ने हो भने जित्न सजिलो रहेको जनाउँदै सबैलाई मनोबल उच्च राख्न आग्रह गर्नुभएको छ ।

बाँकेमा हालसम्म कोरोनाबाट संक्रमितको संख्या दुई हजार ९९० पुगेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ । अझै पनि ३३८ जना विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत भर्ना रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

तपाईको प्रतिक्रिया