काठमाडौं, कात्तिक ८ : अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहर आउँदा एकैदिनमा ठूलो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।
कोभिड ट्र्याकिङ प्रोजेक्टले जारी गरेको तथ्याङ्क अनुसार शुक्रवार अमेरिकामा ८३ हजार १० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
अमेरिकाका सर्जन जनरल जेरोमी एडम्सले अस्पतालमा भर्ना हुने सङ्ख्या बढिरहेको चेतावनी दिएका छन् । तर बिरामी ज्यान गएको दर भने राम्रो उपचारका कारण कम भएको बताइएको छ ।
विशाल औषधि कम्पनीहरू एस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनले नियामकहरूबाट खोप परीक्षण अनुमति पाएर पुन: परीक्षण गरिरहेका बेला पछिल्लो विवरण आएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि उत्तरी गोलार्द्धका मुलुकहरू “कठिन अवस्थामा” रहेको चेतावनी दिएको छ ।
महानिर्देशक टेड्रोस एडहानमले सञ्चारकर्मीहरूलाई भने, “आउँदा केही महिना असाध्यै कठिन छन् र केही मुलुकहरू खतरनाक बाटोमा छन् ।”
अमेरिकी पछिल्ला तथ्याङ्क कस्ता छन्?
कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार अमेरिकामा महामारी शुरू भए यता ८५ लाख मानिसहरू कोरोनाभाइरस सङ्क्रमित भएका छन् ।
शुक्रवारको सङ्ख्या यस अघिको सर्वाधिक सङ्ख्या जुलाई १७मा रहेको ७६ हजार ८ सय ४२ भन्दा ६ हजारले बढी छ ।
गत एकहप्तामा ४ लाख ४१ हजार भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ। जुन जुलाई यताको सबभन्दा धेरै साप्ताहिक सङ्ख्या हो ।
कोभिड-१९ का कारण मृत्यु हुनेको सङ्ख्या पनि गत ६ दिनमा उल्लेख्य रूपमा बढेको छ। तर त्यो एप्रिलमा दैनिक २०००को मृत्यु भएको भन्दा कम छ । अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढ्दो छ ।
शुक्रवारको तथ्याङ्क अनुसार ४१ हजार ४८५ मानिसहरूको अस्पतालमा उपचार भइरहेको छ । यो अगष्ट यताको सबभन्दा उच्च सङ्ख्या हो तर एप्रिल र जुलाईको भन्दा कम ।
कुन राज्य बढ्ता प्रभावित ?
अमेरिकाको मध्यपश्चिम क्षेत्र सबभन्दा प्रभावित छ । नर्थ डेकोटा, मोन्ट्याना र विसकन्सिनमा सङ्ख्या अत्यधिक बढिरहेको छ ।
आसन्न राष्ट्रपतिय चुनावमा महत्त्वपूर्ण भूमिका खेल्ने ओहायो राज्यमा अधिकारीहरूले तेस्रो दिनपनि अत्यधिक सङ्ख्यामा सङ्क्रमित फेला पारेको बताएका छन् ।
इलिनोइ र इन्डियानामा पनि शुक्रवार अहिलेसम्मकै धेरै सङ्ख्यामा सङ्क्रमित भेटिएका छन् । त्यसैगरी दक्षिण पश्चिमी उटाहमा पनि अत्यधिक सङ्ख्यामा सङ्क्रमित पुष्टि गरिएको छ ।
उटाहका गभर्नर ग्यारी हर्बर्टले भाइरसले स्थानीय अस्पतालको क्षमतामा नराम्ररी प्रभाव पारेको बताएका छन् ।
उनले भने “यदि हामीले गम्भीर पाइला नचाल्ने हो र मास्क नलगाउने हो भने उपचार चाहिने सबैका लागि हामी सेवा उपलब्ध गराउन नसक्ने स्थितिमा पुग्न सक्छौँ ।”
राष्ट्रपतिय प्रतिस्पर्धालाई यसले कसरी प्रभावित पारेको छ ?
नोभेम्बरको चुनावमा कोरोनाभाइरस महामारी एक प्रमुख एजेन्डा बनेको छ । राष्ट्रपति डोनल्ड ट्रम्प र जो बाइडनले बिहीवारको राष्ट्रपतिय बहसमा त्यसैबारे चर्काचर्की गरेका थिए । दुवै उम्मेदवारले महामारी नियन्त्रणको भावी बाटोबारे फरक फरक धारणा प्रकट गरेका थिए ।
फ्लोरिडामा शुक्रवार आयोजित र्यालीमा राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकलाई महामारी छिट्टै अन्त्य हुने बताएका थिए । ट्रम्पका मतदातालाई बाइडेनले भाइरसको डर देखाएर त्रस्त बनाउन खोजेको आरोप पनि ट्रम्पले लगाएका थिए ।
बाइडनले डेलावेरमा आयोजित कार्यक्रममा महामारी नियन्त्रण गर्न नसकेको आरोप लगाएका थिए । आफूले जितेमा सबै राज्यमा मास्क अनिवार्य बनाउने राष्ट्रिय परीक्षण योजना कार्यान्वयन गर्ने र पीपीई यथेष्ट बनाउन लगाउने बताएका थिए ।
बाइडनले आफूले जितेमा खोप उपलब्ध भएपछि सबै अमेरिकीका लागि नि:शुल्क बनाउने बताएबताएको बिबिसीले जनाएको छ ।






