प्लाज्मा दान गर्न झापा रेडक्रसको आह्वान

  कार्तिक ०८, २०७७

झापा, कात्तिक ८ : विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का सङ्क्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ ।

शाखाका सभापति लोकराज ढकालले विराटनगरको कोशी, विराट, नोबेल अस्पताल र धरानस्थित विपी मेमोरियल अस्पतालमा उपचाररत १३ सङ्क्रमितको अवस्था गम्भीर बनेको कारण प्लाज्मा दानका लागि आह्वान गर्नुभएको हो ।

उहाँले कोभिडका सङ्क्रमितहरु निको भएर आएकाले प्लाज्मा दान गर्न सक्ने जनाउँदै रेडक्रसको विर्तामोड शाखामा रहेको प्लाज्मा बैंकमा आएर निःशुल्क दान गर्न आग्रह गर्नुभयो । “सङ्क्रमितको सङ्ख्या बढेसँगै कतिपय गम्भीर अवस्थामा आइसियूमा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “चार जनालाई तत्काल प्लाज्मा चाहियो भनेर बिरामीका आफन्तले मागिरहनुभएको छ । उहाँहरुको जीवन बचाउन कोरोना जितेकालाई अपील गर्दछौँ ।’

उहाँले हालसम्म आठ जनालाई प्लाज्मा बैंकमा जम्मा भएको प्लाज्मा निःशुल्क प्रदान गरेको बताउनुभयो । बैंकमा चार पोका प्लाज्मा मौज्दात रहे पनि ब्लड ग्रुप नमिलेका कारण दिन नसकेको बताउनुभयो । सभापति ढकालले चितवन, धरान र मोरङमा रहेका बैंकबाट समेत प्लाज्मा ल्याएर सङ्क्रमितको उपचारमा सेवा दिइरहेको बताउनुभयो । जिल्लामा हालसम्म १० जनाले प्लाज्मा दान गरेका छन् ।

जिल्लामा कूल सङ्क्रमित एक हजार ६५१ जनामध्ये एक हजार १०० जना निको भइसकेका छन् । होम आइसोलेसनमा ३८८ जना रहेका छन् । सङ्क्रमणबाट मुक्त भएको २० दिनपछि प्लाज्मा दान गर्न मिल्ने जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया