काठमाडौं, कात्तिक ७ : अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुन १२ दिन बाँकी छंदा राष्ट्रपति ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले चुनावअघिको अन्तिम बहस गरेका छन् ।
टेनेसी राज्यको नास्भिलमा भएको उक्त बहसको लागि तोकिएका बिषयमा कोभिड-१९ विरूद्धको लडाइ, अमेरिकी परिवार, जातिय बिषय, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा र नेतृत्व थिए ।
बहसकी प्रस्तोता एनबीसी न्यूजकी ह्वाइटहाउस संवाददाता क्रिस्टेन वेल्करले सुरुमै ट्रम्पलाई यसै महिनाको सुरुमा भएको पहिलो राष्ट्रपतिय बहसपछि १६ हजार अमेरिकीको कोभिड-१९ बाट ज्यान गुमाएकोबारे प्रश्न सोधेकी थिइन् ।
महामारीको अर्को चरणमा कसरी नेतृत्व गर्नुहुन्छ भनेर सोध्दा ट्रम्पले भने: “हामीसँग खोप छ। त्यो आउँदैछ। त्यो तयार भइसकेको छ। त्यो केही सातामै घोषणा हुँदैछ ।”
महत्त्वपूर्ण बहस
यस बहस दुवैको चुनावी अभियानका लागि निकै प्रभावकारी हुनसक्ने ठानिएको छ। २ सय जति मात्र मानिसहरू बसिरहेको बहस हलमा यसपटक आयोजकले त्यहाँ उपस्थित सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम बनाएका छन् ।
बाइडनलाई सुरुमा कोरोनाभाइरस देखा परेको चीनलाई सजाय दिन के गर्नुहुन्छ भनि सोधिएको थियो। कोरोनाभाइरसको साटो ब्यापार र अर्थतन्त्रलाई जोडेर बाइडनको जवाफ थियो: “म चीनले अन्तर्राष्ट्रिय नियम अनुसार चलोस् भन्ने चाहन्छु ।”
बहसअघि बाइडनका सल्लाहकारहरूले उनले उक्त कार्यक्रमलाई अमेरिकी जनतासँग सिधा कुरा गर्न प्रयोग गर्ने बताएका छन् । ट्रम्पका एकजना रणनीतिकारले भने ट्रम्पले जो बाइडनलाई बोल्न दिएर उनलाई गल्ती गर्न दिनुपर्ने बताए ।
रेम्डेसिभीरलाई स्वीकृति
बहस हुनुभन्दा केहीबेरअघि मात्र अमेरिकाको खाद्य तथा औषधी निकाय एफडीएले औपचारिक रूपमा कोभिड-१९ विरूद्धको पहिलो औषधी रेम्डेसिभीरलाई औपचारिक रूपमा स्वीकृति दिएको छ। नशाहरूमार्फत् दिइने यो औषधी यसअघि ट्रम्प कोरोनाभाइरसबाट सङ्क्रमित हुँदा दिइएको थियो ।

एफडीएले उक्त औषधी १२ वर्ष र त्यसमाथिका कम्तिमा ४० किलो तौल भएका बिरामीलाई दिन सकिने जनाएको हो ।
यसअघि मे महिनामा अमेरिकामा आपत्कालिन अवस्थामा प्रयोगका लागि रेम्डेसिभीर औषधीलाई अनुमति दिइएको थियो। तर आजको कदमले त्यो सुरक्षित रहेको जनाएको हो ।
बहसअघि विवादित अन्तर्वार्ता
यसअघि राष्ट्रपति ट्रम्पले पूर्वाग्रही अन्तर्वार्ता भन्दै सीबिएस न्यूज च्यानललाई दिएको आफ्नै कुराकानीको एउटा रेकर्डिङ सार्वजनिक गरेका छन् ।
अन्तर्वार्ता लिने सीबिएस न्यूज च्यानलले ट्रम्पले आइतवार प्रशारण हुने उक्त अन्तर्वार्ताको फुटेज पहिल्यै सार्वजनिक गर्न नपाइने आफूसँगको सम्झौता तोडेको जनाएको छ।
ट्रम्पले उक्त अन्तर्वार्तामा आफूप्रति घृणा र कठोरता प्रस्तुत गरिएको जनाएका छन् । अन्तर्वार्ताकारले राष्ट्रपतिलाई अर्थतन्त्र, महामारी र स्वास्थ्य सेवाका बिषयमा जोड दिएर प्रश्नहरू सोधेका थिए ।
बिबिसीका अनुसार सीबिएस न्यूजले यस घटनालाई ‘अकल्पनिय’ बताउँदै त्यसबाट आफ्नो तटस्थ र सान्दर्भिक रिपोर्टिङमा विचलित नभएको जनाएको छ ।






